२०/३० वर्षमै विवाह गरेर छिटो सन्तान जन्माउन युवालाई प्रधानमन्त्री ओलीको सुझाव


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशको जनसंख्या कम भएको बताउँदै चिन्ता व्यक्त गरेका छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित नेपाल युवा सम्मेलन, २०२४ को समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरेका हुन् ।

यस क्रममा उनले मुलुकको जनसंख्या न्यून रहेकाले २०/३० वर्षको आसपासमा विवाह गरेर छिटो सन्तान जन्माउन युवाहरूलाई आग्रह गरे ।

‘४० कटेसी रमाउँला’ भनेर गीत गाउने गरिएको प्रशंग जोड्दै ओलीले भने,‘उमेर छउन्जेल विदेशतिर गइराख्या हुन्छन्, त्यसो भएपछि जनसंख्या झन् घट्ने भयो, २०–३० वर्षको उमेरतिर बिहे गरेर बच्चा पाएपछि जबमा लागे पनि भो बाहिरतिर गए पनि भयो । कमसेकम छोराछोरी हुर्किंदै गर्छन् ।’

उनले देशमा रोजगारी र अवसर राम्रो नहुँदा युवाहरु विदेशिने क्रम चलेको बताउँदै आगामी दिनमा नेपाल ज्येष्ठ नागरिकको मात्रै मुलुक बन्न सक्ने खतरा रहेको बताए । ‘देशमा अलिअलि समस्या भएर पनि हो । बाहिर जाने लहरले पनि होला, रहरले पनि होला,’ उनले भने,‘ठूलो संख्यामा युवाहरु बाहिर गएका छन्, यस कुरालाई रोक्नुपर्छ ।’

यस्तै, उनले हाल २० प्रतिशत नागरिक निरपेक्ष गरिबीको रेखामुनि रहेकामा वर्षमा दुई प्रतिशतका दरले गरिबी घटाउन सक्नु पर्ने बताए । उनले एक वर्षभित्र सडक बालबालिकाको स्थितिलाई अन्त्य गर्ने लक्ष्य लिएकाले कोही अभिभावकविहीन भएर सडकमा बस्न नपर्ने बताए ।

‘बालबालिका सडकमा हुनु हुँदैन, खाते भएर रहनु हुँदैन भनेर पहिला पनि मैले क्याम्पेन चलाएको थिएँ, सरकारमा आउने बित्तिकै मैले पहिलो दिन नै क्याबिनेटबाट घोषणा गरेको छु, हाम्रा बालबच्चाहरु अभिभावकबिहीन भएर सडकमा अलपत्र पर्न मिल्दैन, सरकारले त्यसको जिम्मा लिनु पर्छ,’ उनले भने।