अक्वा त्रिदेव कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ


काठमाडौं– काठमाडौं महानगरपालिकाले पिउनका लागि प्रयोग हुने पानीको जार परीक्षण गर्दा एउटा कम्पनीको जारको पानीमा दिसाजन्य पदार्थ (कोलिफर्म) भेटिएको छ ।

महानगरले २५ साउनमा ५ वटा जार कम्पनीको पानीलाई नमुना परीक्षणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ल्याबमा पठाएको थियो ।

मंगलबार आएको ल्याब रिर्पोटमा अक्वा त्रिदेव कम्पनीको जारको पानीमा कोलिफर्म (दिसाजन्य पदार्थ) देखिएको हो ।

उक्त कम्पनीको पानीको नमुनामा कोलिफर्म ३ सय देखिएको छ । सामान्यत पानीमा कोलिफर्म १ सय हुनेगर्छ । पानीमा कोलिफर्म देखिनुले कम्पनीले विना प्रशोधन बजारमा पानी बेचिरहेको पुष्टी भएको महानगरका एक अधिकारीले सुनाए । सो कम्पनीलाई जरिबाना र कारबाही भने हुन बाँकी रहेको उनले बताए ।

यसअघि सिटी मिनरल वाटर एन्ड बेबरेज प्रालिले उत्पादन गरेको बोत्तलको पानीम किरा भेटिए पछि सो पानी बेच्ने अनामनगरको किम्ची रेस्टुरेन्ट एन्ड फास्ट फुडलाई महानगरले २ लाख जरिबाना तिराएको थियो ।