सार्वजनिक जग्गा अपचलनको आरोपपछि चर्चित कवि अर्जुन पराजुलीले लेखे, ‘तिमी लुट्न छाड, म लेख्न छाड्छु ।’
काठमाडौं– भ्रष्टाचारको विरोधमा हरेक दिन फेसबुकमा ‘कविता’ लेख्ने चर्चित कवि तथा साहित्यकार अर्जुन पराजुलीमाथि सार्वजनिक जग्गा अपचलनमा संलग्न रहेको आरोप लागेको छ ।
बानेश्वरको थापागाउँमा रहेको पाठशाला स्कुलका एक संस्थापक रहेका पराजुलीमाथि उक्त स्कुलमार्फत सरकारी जग्गा कब्जा गरेको आरोप लागेको हो । आरोपछि कवि पराजुलीले फेसबुकमार्फत स्पष्टिकरण दिएका छन् । उनले बुधबार सामाजिक सञ्जालमा कविताको सट्टामा आज केहि भन्नुपर्ने भयो भनेर आफ्ना भनाइ रहेका छन् ।
उनले आफुलाई भ्रष्टचारी भनेर हल्ला फिँजाएको बताउँदै आफू लोकसेवा पास गरेर खाएको स्थाई जागिर भ्रष्टाचार गर्न सिकिएला भन्ने डरले नै छोडेर फुटपाथमा पसल थाप्न गएको बताएका छन् । उनले आफू २०६२÷६३ को आन्दोलनमा ज्यानको बाजी लगाएर हिँडेको हुँदा कुनै पनि खाले अनियमिततामा संलग्न हुनै नसक्ने तर्क गरेका छन् ।
उनले पाठशाला स्कुलको जग्गाको विषयमा लेखेका छन्, ‘स्कुलको जग्गा जति छ, त्यो भाडामा हो । भाडाको जग्गामा बैंकबाट ऋण लिएर घर बनाएका छौं । करारको अवधि सकिएपछि त्यो हामीले बनाएका घरहरू समेत जग्गाधनीलाई छोडेर आफूले झिटीगुण्टा कसेर हिँड्नुपर्छ । मैले गरेको अपराध यति हो कि हामीले स्कुल चलायौं । त्यसैले खासगरी म शैक्षिक माफिया भएँ ।’
उनले थप लेखेका छन्, ‘जसले स्कुल नै डेरामा चलाएको छ, उसले सार्वजनिक जग्गा खायो भनेर हल्ला चलाउन भ्याइसकेछन् । सायद अब मलाई मुद्दा पनि लाउँछन् होला । मेरो दल छैन, नेता छैन, सराकर छैन, मुद्दा मलाई नलगाएर कसलाई लगाउने त?’
उनले आफुले भ्रष्टाचारको विरोध गर्दा देशकै ठूलो अपाराधिसरह भएको बताएका छन् । तर जति गरेपनि आफुले भ्रष्टाचारको विरोधमा लेख्न नछाड्ने उनले बताएका छन् । उनले आफ्नो पनि देश भएकाले भ्रष्टाचार भएको टुलुटुलु हेर्न नसक्ने भन्दै लेखेका छन्, ‘तिमी लुट्न छाड, म लेख्न छाड्छु ।’
काठमाडौंको वडा नम्बर १० स्थित दीपकरमण उप्रेतिको जग्गा भाडामा लिएर पाठशालाको भवन बनाइएको छ । भवन नजिकैको १५ आना १ पैसा क्षेत्रफलको विवादित जग्गा पाठशाला स्कुलले डेढ वर्षअघिदेखि पार्किङस्थलको रुपमा प्रयोग गर्दै आएको छ । पार्किङ स्थललाई विद्यालयले बार हालेको छ । सोहि पाकिङ स्थलमा प्रयोग गरिएको जग्गा सार्वजनिक भएको भन्दै पछिल्लो समयमा विवादित बनेको छ ।