काठमाडौं– कक्षा १२ को नतिजा नआइकन प्रवेश परिक्षाको फारम खुलाएको चिकित्सा शिक्षा आयोगले नतिजामा एनजी आएका विद्यार्थीको रकम फिर्ता गर्ने भएको छ ।
आयोगले कक्षा १२ को नतिजा नआउँदै चिकित्सा शिक्षाका कार्यक्रमका लागि प्रवेश परीक्षाको फारम भर्न दिने निर्णय गरेको थियो । तर, कक्षा १२ मै फेल भएपछि फारम भरेका विद्यार्थीहरु अन्योलमा परेका थिए। विद्यार्थीहरुले रकम फिर्ता पाउनुपर्ने भन्दै विरोध गरेपछि आयोगले पैसा फिर्ता दिने निर्णय गरेको हो ।
चिकित्सा शिक्षाको स्नातक तहमा एमबीबीएस, बीडिएस, नर्सिङसहित १३ वटा विषयको अध्ययन अध्यापन हुन्छ । ती विषय अध्ययनका लागि चिकित्सा शिक्षा आयोगले लिने एकीकृत प्रवेश परीक्षा पास हुनुपर्छ । यो वर्षको नयाँ शैक्षिक सत्रका लागि आयोगले गत जेठ ३० देखि असार १८ सम्म अनलाइन आवेदन आह्वान गरेको थियो ।
५१ हजार ७ सय ४४ विद्यार्थीले विभिन्न विषयमा अध्ययनका लागि आवेदन दिएका थिए । कतिपय विद्यार्थीले दुई वा तीन विषयसम्मको पनि परीक्षाका लागि आवेदन दिएका छन् । प्रतिविद्यार्थी प्रति विषय ४ हजारका दरले ५१ हजार विद्यार्थीबाट आयोगले २१ करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ ।
तर कक्षा १२ को नतिजा आउँदा फारम भरेकामध्ये ३५ सयभन्दा बढी कक्षा १२ मा फेल भएका छन् अर्थात् अब उनीहरु प्रवेश परिक्षामा सहभागी हुन पाउने छैनन् । फेल भएका विद्यार्थीहरु आफूहरुलाई प्रवेश परीक्षामा सहभागी गराउन माग गर्दै उच्च अदालतसम्म पुगेका थिए । अदालतले पुनर्योगको आवेदन दिएकालाई प्रवेश परीक्षामा सामेल गराउन अन्तरिम आदेश दिएको छ । एकीकृत प्रवेश परीक्षा भदौ १ देखि सुरु हुदैँछ ।
यसैबिच आयोगले बुधबार प्रवेश परीक्षा दिन नपाउने विद्यार्थीहरुको शुल्क फिर्ता दिने निर्णय गरेको हो ।
प्रतिक्रिया