नेसनल प्याव्सनको चित्रकला प्रतियोगिता युनिटी स्कुलमा सम्पन्न


भक्तपुर– नेसनल प्याव्सन भक्तपुरको अन्तर विद्यालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिका– ५ कटुन्जेस्थित अले आयोजनामा बुधबार कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो ।

नेसनल प्याव्सन भक्तपुरको सदस्य विद्यालयको कक्षा १ देखि ३ सम्म का विद्यार्थीहरु बीच ‘हाम्रो गाऊँ सफा ठाउँ’ शीर्षकमा चित्रकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा आरक्षण नेसनल स्कुलकी रजनी साखकर्मी प्रथम, ऋतम्भरा पाठशालाकी जश्मिन अछामी द्धितीय, ईडेन गार्डेन स्कुलका लबहागं राई तृतीय र सान्त्वना आरक्षणकी समिक्षा दर्नालले प्राप्त गर्न सफल भएका थिए ।

आयोजक यूनिटी स्कुलका संस्थापक एवं व्यवस्थापन समितिका अध्यक्ष रण बहादुर गुमान्जूको अध्यक्षतामा सञ्चालित कार्यक्रममा सुर्यविनायक नगरपालिका शिक्षा शाखा प्रमुख रत्न बहादुर कटवालले विजयी विद्यार्थीहरुलाई ट्रफि, मेडल र प्रमाण पत्र वितरण गरेका थिए ।

शिक्षा शाखा प्रमुख कटवालले विद्यार्थीहरुलाई किताब भन्दा बाहिरको ज्ञान दिनुपर्ने भन्दै नेसनल प्याव्सन भक्तपुरले गर्दै आएको कार्यक्रमको प्रशंसा गरे । कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले आयोजक यूनिटी स्कुललाई हार्दिक आभार व्यक्त गर्दै २०८० को एसईई नतिजामा ४.० ल्याउन सफल यूनिटी स्कूलबाट अन्य विद्यालयले पनि प्रेरणा लिनुपर्ने बताए ।

नेसनल प्याव्सन भक्तपुरले प्रत्येक महिना कम्तिमा विद्यार्थीहरुको लागि एक कार्यक्रम गर्दै आएको र सोको आयोजना गर्ने जिम्मेवारी सदस्य विद्यालयलाई दिइएको जानकारी दिए ।

उक्त चित्रकला प्रतियोगितामा यूनिटी स्कुलका प्रिन्सिपल विपिन गुमान्जुले स्वागत गरेका थिए भने नेसनल प्याव्सनका प्रदेश सहकोषाध्यक्ष साँधुराम गैडा, जिल्ला समितिका पदाधिकारीहरु उपाध्यक्ष राम प्रसाद खाताखो, सचिव कुमार थापामगर, कोषाध्यक्ष विक्रम थापा लगायत विभिन्न स्कुलका प्रिन्सिपलहरुको उपस्थिति रहेको थियो ।