ट्राफिक प्रहरीले जाँच गर्न रोकेको स्कुटरलाई ट्रकले ठक्कर दिएपछि…


काठमाडौं– भक्तपुरको गठ्ठाघरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि तनावग्रस्थ अवस्था सिर्जना भएको छ ।

ट्राफिक प्रहरीकै सामु ट्रकले स्कुटर चालकलाई किचेपछि घटनामा ट्राफिक प्रहरीको गल्ती रहेको भन्दै स्थानीयबासी आक्रोशित छन् । गठ्ठाघर चोकमा ट्राफिक चेकजाँचको क्रममा रोकिएको स्कुटरलाई तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएर घिसारेको थियो ।

केही प्रत्यक्षदर्शीले सुरूमा खुट्टामा मात्र किचेको र पछि फेरि ब्याक गरेर किचेको दाबीसमेत गरेका छन् । घटनापछि आक्रोशित स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेर ट्राफिक प्रहरीलाई लखेटेका छन् ।

बिहिबार दिउँसो कौशलटारबाट गठ्ठाघरतर्फ गएको ना।६ ख २१७३ नम्बरको ट्रकले स्कुटरलाई लछारेको थियो । स्थानीयले उक्त ट्रकमाथी तोडफोड र आगजनी गरेका छन् । आगो भने घटनाको केहिपछि निभाइएको थियो ।

घटनामा मृतक महिलाको भने हालसम्म पहिचान खुलेको छैन ।