काठमाडौं– ट्रकको ठक्करले स्कुटर चालकको मृत्यु भएपछि गठ्ठाघरमा स्थानीयले गरेको विरोध प्रदर्शनले तनावग्रस्त अवस्था सिर्जना गरेपछि प्रहरीले अश्रुग्यास हानेको छ ।
बिहीबार दिउँसो ट्राफिक प्रहरीको चेकिङमा रोकिएको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । त्यसपछि स्थानीय बासिन्दाले दुर्घटना हुनुमा ट्राफिक प्रहरीको पनि दोष रहेको भन्दै प्रदर्शन गरेका हुन् ।
दुर्घटनापछि करिब दुई हजार सर्वसाधारण सडकमा आएर प्रदर्शन गरेका थिए । घटनास्थलमा जिल्ला प्रहरी परिसर भत्तपुरका ८० जना र काठमाडौंका ११५ जना प्रहरी परिचालन भएका छन् ।
उनीहरुले ट्रक चालकलाई कारबाही गर्न माग गरेका छन् । प्रदर्शनकारीले सडकको बीचमा रहेको ट्राफिक आइल्याण्ड पनि भत्काइदिएका छन् । ट्रकले ठक्कर दिएर सय मिटर परसम्म घिसार्दा चक्कामा परेर स्कुटरमा सवार महिलाको मृत्यु भएको थियो । मृतक महिलाको पहिचाल खुलेको छैन । उनको शवलाई प्रहरीले त्रिवि शिक्षण अस्पताल पठाएको छ ।
ट्रक चालक फरार रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रतिक्रिया