भारतमा ‘स्त्री २’ को आक्रामक ओपनिङ, ‘कल्की २८९८ एडी’ को भन्दा पनि धेरै
काठमाडौं– श्रद्धा कपुर र राजकुमार राव स्टारर हरर–कमेडी फिल्म ‘स्त्री २’ ले भारतीय बक्स अफिसमा आक्रामक ओपनिङ गरेको छ ।
बिहीबार भारतीय स्वतन्त्रता दिवसको अवसरमा रिलिज भएको फिल्मको ओपनिङ सन् २०२४ को सबैभन्दा धेरै रहेको इण्डिया टुडेले लेखेको छ ।
बलिउड ट्रेड विश्लेषकले ओपनिङ ४० करोडभन्दा माथि हुने प्रक्षेपण गरेका थिए । सन् २०१८ को फिल्म ‘स्त्री’को यो दोस्रो श्रृंखलामा अपारशक्ति खुराना, अभिषेक बनर्जी र पंकज त्रिपाठीको पनि अभिनय छ ।
बुधबारको स्पेसल ओपनिङ प्रिमियरबाट मात्रै फिल्मले ८ करोड भारु कमायो । आधिकारिक रिलिजको दिनमा फिल्मको कमाइ ४६ करोड रह्यो । कुल मिलाएर यसको कलेक्सन ५४.३५ करोड भारु पुगेको हो ।
यो कलेक्सन अघिल्ला हिट फिल्म ‘कल्की २८९८ एडी’ र ‘फाइटर’को ओपनिङ भन्दा पनि बढी हो । बिहीबारै रिलिज भएका अक्षय कुमारको ‘खेल मेल में’ र जोन अब्राहमको ‘वेदा’लाई पनि पार्दै ‘स्त्री २’ अघि निस्किएको हो ।