३६ घण्टाको लगातार ड्युटीपछि आराम गर्न बसेकी प्रशिक्षार्थी डाक्टरको बलात्कारपछि हत्या, घटनालाई दबाउन खोजिएको भन्दै विरोध


एजेन्सी- भारतको कोलकत्तामा महिला ट्रेनी डाक्टरको बलात्कारपछि हत्याको घटनालाई दबाउन खोजेको भनेर विरोध भइरहेको छ । कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्ट ८ मा एक प्रशिक्षार्थी डाक्टर नग्न अवस्थामा फेला परेकी थिइन् ।

उनको बलात्कारपछि हत्या भएको भनेर पुष्टी भएको छ । ३१ वर्षीया प्रशिक्षार्थी डाक्टर मौमिता देवनाथ ३६ घण्टाको लगातार ड्युटीपछि कलेजको सेमिनार हलमा आराम गर्न पुगेकी थिइन् ।

अगस्ट ८ को बिहान करिब ३ बजेदेखि ५ बजेको समयमा उनको हत्या भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । ती महिला डाक्टरको शव फेला पर्दा तिघ्रा फाट्टिएर हड्डी टुटेको थियो भने यौनाङ्गबाट रगत बगिरहेको थियो । उनको मुखबाट रगत बगिरहेको र पूर्ण रुपमा नग्न अवस्थामा शव फेला परेको थियो ।

उनले लगाएको चस्माको शिशा फुटेर आँखाबाट रगत बनेको थियो । शरिर चोटले भरिएको थियो भने बलात्कारपछि घाँटी दबाएर हत्या गरेको पोस्टपार्टम रिपोर्टले देखाएको छ ।

तर उक्त बलात्कारपछि हत्यालाईको घटनालाई प्रहरीले सुरुमा आत्महत्या भनेर पिडीत डाक्टरको आमाबुबालाई झुटो बोलेको बताइएको छ । तर त्यहाँका डाक्टरहरुले घटनाको छानबिन र डाक्टरहरुको सुरक्षा माग गर्दै प्रदर्शन गर्न थालेपछि मात्र घटना बाहिर आउन थालेको हो । यस मुद्दा र पोस्टमार्टम रिपोर्टलाई दबाउन खोजेको भन्दै त्यहाँ हड्ताल भएको थियो ।

यो घटनालाई भारतका अग्रपन्तिका सञ्चार माध्यमले खासै प्राथमिकतामा राखेका छैनन् । तर सामाजिक सञ्जालमा भने उक्त केशलाई दबाउन खोजिएको भन्दै व्यापकरुपमा विरोध भइरहेको छ ।

मृतक डा देवनाथ घटना भएको रात अन्य तीन जना डाक्टरहरुसँग ड्युटीमा थिइन् । सोही घटनालाई लिएर भारत र विषेशगरि कोलकत्ताका रेजिडेन्ट डाक्टरहरू हडतालमा उत्रिएका छन्। देशभरिकै इमजेन्सी सेवा बाहेकका अन्य सेवाहरु उनीहरुले गर्न मानेका छैनन् । डाक्टरले लगातार ३६ घण्टासम्म खटिनुपर्ने तर उनीहरुको आराम गर्ने स्थान नभएको र महिला डाक्टरको सुरक्षा नभएको भन्दै विरोध भइरहेको छ । उनीहरुले डाक्टरहरूको सुरक्षाका लागि सेन्ट्रल प्रोटेक्सन एक्ट लागू गर्न मागसमेत गरेका छन् ।

उक्त केशलाई सिआईबीलाई जिम्मा लगाउनुपर्ने उनीहरुको माग छ । कोलकत्ताकी मुख्यमन्त्री ममता बेनर्जीले आइतबारसम्ममा अनुसन्धान गरिसक्न प्रहरीलाई निर्देशन दिएकी छिन् । सोसमयमा प्रहरीले केश समाधान गर्न नसके सिआईबीको जिम्मा लगाउने उनले आश्वासन दिएकी छिन् । फास्ट ट्रयाक कोर्टबाट मुद्दा अघि बढाइने उनले बताएकी छिन् ।

यो केशमा सो दिन खटिएका अन्य तीन डक्टर र एक कर्मचारीसँग प्रहरीले बयान लिएको छ । यस्तै हत्याको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सञ्जय राय रहेका छन् । पक्राउ परेका रायमा यसअघि पनि गर्भवती श्रीमतीमाथि दुव्र्यवहार तथा महिला डाक्टरमाथी दुव्र्यवहारमा मुद्दा परिसकेको छ । उनले अस्पतालको पछाडि गएर रक्सी पिएको र नशामा डाक्टरको बलात्कार र हत्या गरेको प्रहरीले दाबी गरेको छ । प्रहरीको अनुसार उनले हत्यापछि घर गएर प्रमाण मेटाउन कपडा धोएको र जुत्तामा रगतको दाग देखिएको छ ।

त्यस्तो व्यक्तिपनि अस्पतालमा खुल्लेआम घुम्नु र ड्युटीमा खटिएकी डाक्टरको बलात्कारपछि हत्या हुनुमा प्रहरी प्रशासन र अस्पतालको गल्ती रहेको प्रदर्शनकारीहरुको भनाइ छ । यो घटनापछि मेडिकल कलेजका प्रिन्सिपल डा सन्दीप घोषले राजीनामा दिएका छन् ।