काठमाडौं– बालेन शाहको गीत सार्वजनिक गरेको कारण आफ्नो सरुवा भएको एक कर्मचारीले दाबी गरेकी छिन् । पोखरा महानगरपालिका सामाजिक विकास महाशाखामा कार्यरत सातौं तहकी अधिकृत चन्द्रावती वाग्लेले बालेनको तारिफमा गीत गाएको कारण सरुवा भएको बताएकी हुन् ।
वाग्लेले करिब एक महिना पहिले बालेनको तारिफ गर्दै तिजको गीत युट्युबमा सार्वजनिक गरेकी थिइन् । जहाँ उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गरेका कामहरुको प्रशंसा गरेकी छिन् ।
उनले बालेनलाई उपमेयर सुनिता डंगोलसँग मिलेर काठमाडौंको विकास गरिरहेको बताएकी छिन् । बालेनले शहर राम्रो बनाउन गरेका कामहरु, टुकुचा फर्काउन, सरकारी जमिन फर्काउन गरेका कामहरुको तारिफ गरेकी छिन् । उनले विपन्नका लागि शिक्षामा छात्रावृत्ति र अस्पतालमा बेडको व्यवस्था मिलाएको भन्दै उनको सिको अरु नेताहरुले पनि गर्नुपर्ने भन्दै बालेन बोलको तिजको गीत सार्वजनिक गरेकी छिन् ।
युट्युबमा सार्वजनिक उनको गीतमा वाग्लेकै शब्द÷संगीत र स्वर छ । उनले चन्दवती वाग्ले युट्युब च्यानलमार्फत नै उक्त भिडियो सार्वजनिक गरेकी छिन् । तर उक्त गीत सार्वजनिक गरेकै कारण उनले आफ्नो सरुवा पोखरा महानगरपालिकाबाट दुर्गममा भएको भन्दै विरोध गरेकी छिन् । करिब ५ वर्ष पोखरा महानगरको वडा नम्बर ३ मा काम गरेकी वाग्लेको तीन महिना पहिले वडा नं २३ मा सरुवा भएको थियो । वडा नं ३ वडा नं २३ को तुलनामा दुर्गम मानिन्छ । तर उनको तीन महिना नपुग्दै पुन पहिला काम गरेकै दुर्गम वडामा सरुवा भएपछि उनले आफुले बालेको गीत गाएको कारण सरुवा भएको आरोप लगाएकी हुन् ।
पोखरा महानगरपालिकाको कर्मचारीको पदस्थापन, सरुवा र कामकाजमा खटाउने मापदण्ड २०८० ले महाशाखा, शाखा, वडा कार्यालय, आयोग, समिति र कार्यालयमा कार्यरत कर्मचारीलाई न्यूनतम एक वर्षमा सरूवा गर्न सकिने उल्लेख छ । तर तीन महिनामा नै सरुवा भएपछि महानगरकै कानुन विपरित भएको चन्द्रावतीको दावी छ ।
महानगरले आफुलाई ‘सातौं तहका कर्मचारीले वडा सम्हाल्ने’ भन्दै सरुवा गरेको भएपनि सुगम वडामा पनि छैटौं तहका कर्मचारीलाई वडाको जिम्मेवारी दिइएको पाएको बताएकी छिन् । उनले अरुबाट काठमाडौंका मेयर बालेन शाहको प्रशंसामा गीत निकालेपछि कारबाहीस्वरूप मेयरको निर्देशनमा सरुवा भएको थाहा पाएको .बताएकी छिन् ।
उक्त विषयमा महानगरका प्रमुख प्रशासकीय अधिकृत काठमाडौं गएकाले बुझ्न नपाएको भन्दै उनले हाकिमसँग कुरा गरेपछि मात्र सरुवा भएको ठाउँमा जाने अडान लिएकी छिन् । तर जुनसुकै हातलमा पनि युट्युबमा आठ लाख कटिसकेको आफ्नो गीत नहटाउने उनको अडान छ ।
यस विषयमा महानगरका मेयर धनराज आचार्यले कर्मचारीको सरुवाको विषयमा आफ्नो हस्तक्षप नरहने बताएका छन् । कर्मचारीको जिम्मेवारी प्रमुख प्रशासकीय अधिकृतको भएको र कसलाई सरुवा गर्ने निणर्य आफुले नलिने उनको भनाइ छ । उनले जस्तो गीत सार्वजनिक गाएपनि व्यक्तिको स्वतन्त्रताको विषय रहेको बताएका छन् । मेयर आचार्यले वाग्लेले बालेनको प्रसंसा गर्दै गाएको गीतमा कुनै आपत्ती नरहेको बताएका छन् । उनले भने, ‘यो उहाँको स्वतन्त्रताको कुरा हो, सबैले आफ्नो अभिव्यक्ति र विचार सम्प्रेषण गर्न पाउँछन् ।’
प्रतिक्रिया