काठमाडौं– सहकारीको बचतकर्ताको रकम अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । यसका लागि समितिले प्रमाण शसक्त बनाउने तयारी गरेको छ ।
लामिछाने विरुद्ध प्रमाणलाई शसक्त बनाएर भदौ ७ गते समितिमा बयानका लागि बोलाउने गरि काम अघि बढाएको समितिका एक सदस्यले जानकारी दिए । रवि लामिछानेको बयान नलिएपनि समितिले रास्वपाका अन्य नेताको बयान लिन सुरु गरिसकेको छ ।
आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यसँग समितिले बयान लिएको थियो । यस्तै कुमार रम्तेल‚रोशनी गुरुङ लगायतको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने समितिको तयारी रहेको बताइएको छ ।
आइतबार समितिसँगको बयानमा विपिनले कम्पनीको प्रबन्ध निर्देशक रवि भएपछि उनकै हस्ताक्षर चल्ने हो भनेर बयान दिएका छन् ।
जीवी राईसँग मिलेर ग्यालेक्सी टिभी सञ्चालन गर्न विभिन्न सहकारीबाट व्यक्ति र संस्थाको नाममा सहकारीको पैसा अपचलन गरेको आरोप रवि लामिछानेमाथी छ । उनीहरूले पोखराको सूर्य दर्शन सहकारीबाट १० करोड, सहारा चितवन सहकारीबाट ११ करोड ७१ लाख‚ बुटवलको सुप्रिम सहकारीबाट १० करोड ७४ लाख गरी ३२ करोड ४५ लाख गोर्खा मिडियाको खातामा ट्रान्सफर गरेको आरोप लाग्दै आएको छ ।
गोरखा मिडिया नेटवर्कबाट सञ्चालित ग्यालेक्सी टेलिभिजनमा जीवी राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक भएर काम गरेका थिए । कम्पनीमा १५ प्रतिशत स्वेट सेयर लिएको कुरा रवि आफैले बताउँदै आएका छन् ।
प्रतिक्रिया