तीन वर्षमा २३ गुणाले बढ्यो भारतमा विद्युत निर्यात, थप २५१ मेगावाट विद्युत निर्यात गर्न स्विकृत


काठमाडौं– अन्तरदेशीय व्यापार हेतु भारतको तोकिएको प्राधिकरणले नेपालका १२ वटा जलविद्युत परियोजनाहरुबाट थप २५१ मेगावाट विद्युत निर्यातका लागि स्वीकृत गरेको छ । नेपालले पहिलोपटक बिहारमा मध्यकालीन विद्युत बिक्री सम्झौतामार्फत विद्युत निर्यात गर्ने भएको छ ।

नेपालस्थित् भारतीय दूतावासले हालसम्म १६ परियोजनाबाट ६९० मेगावाट निर्यात गर्दै आएकोमा अब कुल २८ परियोजनाबाट ९४१ मेगावाट निर्यात हुने जनाएको छ । यो २५१ मेगावाट स्वीकृत हुनुअगाडी नै गत आर्थिक वर्षमा. १६.९३ अर्ब नेपाली रुपैयाँ बराबरको विद्युत बिक्री गरी नेपाल खुद विद्युत निर्यातकर्ता र खुद राजस्व उत्पादनकर्ता बनिसकेको छ ।

सन् २०२१ अक्टोबरमा भारतले पहिलो पटक नेपालबाट भारततर्फ ३९ मेगावाट विद्युत निर्यातका लागि अनुमति दिएको थियो । तीन वर्षभन्दा कम अवधिमा यो आँकडा २४ गुणा भन्दा बढीले बढेको छ । इन्डियन इनर्जी एक्सचेन्जको डे अहेड मार्केटमा बिक्री गरी नेपालले पहिलोपटक ऊर्जा निर्यात सुरु ग¥यो । त्यसयता भारतले रियल टाइम मार्केटमा समेत पहुँच प्रदान गरेको छ । नेपाल विद्युत प्राधिकरणले हरियाणा र बिहारका डिस्कमसँग मध्यकालीन विद्युत बिक्री सम्झौता पनि गरेको छ ।

भारतले भारतका खरिदकर्ताहरुका लागि जलविद्युत खरिद दायित्व (एचपीओ) को एक हिस्साको रुपमा नेपालबाट हुने जलविद्युत आयात गणना गर्ने प्रावधान पनि खोलेको छ जसले खरिदकर्ताहरुलाई नेपालबाट विद्युत खरिद गर्न प्रोत्साहित गर्ने भारतको विश्वास छ । नेपाल र भारतबीचको दीर्घकालीन ऊर्जा सम्झौताले आगामी १० वर्षमा नेपालबाट भारतलाई १० हजार मेगावाटसम्म विद्युत् बिक्री गर्ने परिकल्पना गरेको छ ।

यो सम्झौताको पहिलो वर्ष हो र झण्डै एक हजार मेगावाट निर्यात भइसकेको छ । यी गतिविधिसँगै नेपाल दक्षिण एसिया क्षेत्रकै प्रमुख जलविद्युत निर्यातकर्ता बन्ने बाटोमा छ । बंगलादेशलाई ४० मेगावाट विद्युत बिक्री गर्ने सम्झौता टुङ्गो लागी मिति २०८१ श्रावण १३ गते हस्ताक्षर गर्ने योजना थियो तथापि बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण सो स्थगित भयो ।