छायाँनाथको दर्शन गरेर फर्किएका दुई जना यात्रुलाई हेर्दाहेर्दै खोलाले बगायो, अस्थायी पुल राखिँदै


काठमाडौं– मुगुको प्रशिद्ध धार्मिक स्थल मानिने छायाँनाथ धामको अवलोकन गरेर फर्किएका तीर्थ यात्रुहरु एउटा साँघुरो काठबाट खोला तर्दै छन् ।

खोला पारी मानिसहरुको भीड खोला तर्नको लागि बसिरहेको छ । त्यसैमध्ये साँघुरो पुल तरिरहेकामध्ये एक बालिका चिप्लिन्छिन् । उनको अगाडी रहेकी महिलाले बालिकालाई समाउन खोज्दा महिलापनि बालिकासँगै खोलामा खस्छिन् ।

मूगुम कार्मारोङ गाउँपालिकास्थित छायाँनाथको दर्शन गरेर फर्किएका नाक्चेलाक्ना सडकखण्डमा पर्ने अल्का सागु खोला तर्ने क्रममा चिप्लिँदा उनीहरुलाई खोलासँगै आएको बाढीले बगाएको हो ।

सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा देखिए अनुसार खोला किनारमा रहेका अन्य मानिसहरु किनारामा दौडिन्छन् । बाढीले दुईजनालाई बगाएको र अन्य यात्रुहरु पछिपछि दौडिएको भिडियोमा देख्न सकिन्छ । उनीहरुको तत्काल उद्दार भएको मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयर विष्णुुुुकुमार भामले बताए ।

उनले हरेक वर्ष लाखौँ खर्च गरेर झोलुङ्गे पुल बनाउँदा बाढीले बगाउने गरेको सुनाए । उनले भने, ‘आइतबार बेलुका खोलामा आएको बाढीले झोलुङे पुल तथा ट्रस्ट पुल बगाएछ। त्यसपछि खोला तर्न तत्कालका लागि उद्धारमा सजिलो होस् भनेर नगर प्रहरीलाई निर्देशन दिएर काठ राख्न लगाएको हो । त्यो काठबाट पनि चिप्लिएर दुई जनालाई बगायो ।’

खोलाले बगाएपछि उद्दार गरिएका दुवैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले जानकारी दिए । उनीहरुको जिल्ला अस्पताल मुगुमा सामान्य उपचार भएको र घर फर्किसकेको उनको भनाई छ ।

सोमबारको घटनापछि खोला तर्न खोलाले बगाउने जोखिम कम होस् भन्नका लागि खोलामा काठ थप्ने काम भइरहेको मेयर भामले बताए । मंगलबार अपहन्नमा भएको टेलिफोन सम्पर्कमा २० जना नगरप्रहरी र एपिएफ र नेपालप्रहरीसँग सोमबार दुर्घटना भएको खोलाकै अवलोकनमा गरिरहेको मेयर भामले सुनाए । उनले भने, ‘खोला तर्न सजिलो होस् भनेर काठ थप्ने काम भइरहेको छ।’

संघ सरकारले अल्का साँघु खोलामा आठ करोड रुपैयाँको लागतमा मोटरेवल पुल निर्माणको काम अघि बढीसकेको उनले सुनाए । खोलाको दुई किनारामा पुलको फाउन्डेसन राखिसकिएको छ । अहिले वर्षाका कारण काम रोकिएको र कात्तिकबाट पुल निर्माणको काम पुन सुरु हुने उनले बताए । उनले भने, ‘गत आर्थिक वर्षबाट काम सुरु गरेको हो । मोटरेवल पुलको ढलानमात्र बाँकी छ । यस वर्ष काम सकिन्छ ।

निर्माणधिन पुलनजिकै रहेको मोटर चल्ने अस्थायी काठको पुल केहिदिन अघि मात्र बाढीसँगै बगेको उनले बताए । गत वर्ष उक्त खोलामा आएको बाढी स्मरण गर्दै उनले भने, ‘गत वर्ष आएको बाढीले वडा नं ६ को ६०/७० घर नै बगायो । एकदमै जोखिमयुक्त खोला छ ।’