काठमाडौं– सरकारले सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउने गृहकार्य सुरु गरेको छ । टिकटकले नेपालको कानुन, नीति, नियमको परिपालनाप्रति प्रतिवद्धता व्यक्त गरेर पत्राचार गरेसँगै सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन लागेको हो ।
आगामी क्याविनेट बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्धता हटाउने बारे प्रस्ताव पेश गर्ने बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको ग्रिन सिग्नल पाएर नै मन्त्री गुरुङले उक्त प्रस्ताव क्याविनेटमा लान लागेको बताइएको छ ।
सरकारले गत २०८० कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो । टिकटकबाट सामाजिक सद्भाव बिगार्ने काम भएको भन्दै सरकारले यसमाथि प्रतिबन्ध लगाएको हो ।
२०८० मंसिरमा मन्त्रालयले सामाजिक सञ्जालसम्बन्धी कार्यविधि जारी गरेको छ । उक्त कार्यविधिको दफा ३ मा सामाजिक सञ्जाल सूचीकरण गर्नुपर्ने सम्बन्धी व्यवस्था छ । यो दफाअनुसार सूचीकरण हुन तयार भएपछि टिकटक खोल्न लागिएको हो ।
प्रतिबन्ध लागेदेखि नै नेपालमा टिकटकले फुकुवाका लागि पटक पटक पत्र पठाएको थियो । नेपालको कानून पालना गर्ने प्रतिवद्धता जनाएपनि प्रतिबन्ध खुलाउन सरकार लचिलो भएको थिएन । प्रचण्ड सरकार ढलेर ओली प्रधानमन्त्री भएपछि टिकटक खुल्ने वातावरण बनेको छ ।
प्रतिक्रिया