विश्वको सबैभन्दा वृद्ध महिलाको ११७ वर्षको उमेरमा मृत्यु


काठमाडौं– विश्वको सबैभन्दा वृद्ध व्यक्ति मानिएकी वृद्धाको मृत्यु भएको छ । स्पेनकी मारिया ब्रान्यास मोरेराको १९ अगस्ट अर्थात् सोमबार निधन भएको हो ।

मारियालाई हाल विश्वको सबैभन्दा धेरै उमेरको व्यक्तिको उपाधी गिनिज वर्ल्ड रेकर्डले लेखेको थियो । उनको ११७ वषए १६८ दिनको उमेरमा मृत्यु भएको हो । उनी इतिहासमा आठौं सबैभन्दा वृद्ध व्यक्ति रहेको समेत गिनिज वर्ल्ड रेकर्डले जनाएको छ ।

मारियाको विगत दुई दशकदेखि बस्दै आएको स्पेनको क्याटालोनियास्थित नर्सिङ होममा निधन भएको हो । यसअघि फ्रान्सका ल्युसिल रान्डनको मृत्युपछि गत जनवरीमा विश्वको सबैभन्दा वृद्ध महिला भएको पुष्टि गरिएको थियो । निधन हुँदासम्म सुन्न गाह्रो हुनु र हिँडडुल गर्न समस्याहरू हुनु बाहेक उनको अन्य कुनै स्वास्थ्य समस्याहरू थिएनन् । उनी सबै कुराहरु स्पष्टरुपमा स्मरण गर्न सक्थिन् ।

संसारको सबैभन्दा वृद्ध महिला पुष्टी भएपछि मारियाले आफ्नो दीर्घायुको श्रेय व्यवस्था, शान्ति, परिवार र साथीहरूसँगको राम्रो सम्बन्ध, प्रकृतिसँगको सम्पर्क, भावनात्मक स्थिरता, कुनै चिन्ता, कुनै पछुतो, धेरै सकारात्मकता, र विषाक्त व्यक्तिहरूबाट टाढा रहनुलाई दिएकी थिइन् । उनले लामो आयु बाँच्नुलाई भाग्यशाली हुनु बताएकी थिइन् ।

मारियाले आफ्नो जीवनका सुरुका दिनहरुको अमेरिकामा बिताएकी थिइन् । उनको जन्म ४ मार्च १९०७ मा सान फ्रान्सिस्को, क्यालिफोर्नियामा भएको थियो ।

उनको परिवारले पहिलो विश्व युद्धको बीचमा १९१५ मा क्याटालोनिया फर्कने निर्णय गरे। ट्रान्स–एट्लान्टिक यात्रा एक खतरनाक साबित भयो । आठ वर्षीया मारिया दुर्भाग्यवश आफ्ना भाइहरूसँग खेल्ने क्रममा माथिबाट तल्लो डेकमा खसेकी थिइन् । जसकारण उनले एउटा कान सुन्ने क्षमता सदाका लागि गुमाउनुपर्यो । मारियाको बुबा पनि यात्राको अन्त्यतिर फुफ्फुसीय क्षयरोगबाट दुखद रूपमा मृत्यु भयो।

उनको परिवार बार्सिलोनामा पुगेर बसोबास गर्यो। पछि उत्तरपूर्वी क्याटालोनियाको बानोल्स शहरमा सरे। २४ वर्षको उमेरमा मारियाले डा जोन मोरेटसँग विवाह गरेर तीन सन्तानलाई जन्म दिइन् ।

मारियाका दम्पतीले स्पेनी गृहयुद्ध (१९३६– १९३९) को समयमा घाइते सैनिकहरूको उपचार गर्न सँगै काम गरे । युघपछि पनि उनले श्रीमानको असिस्टेन्टको रुपमा काम गरिरहिन् ।

डा मोरेटको १९७६ मा मृत्यु भयो । मारियाभने दुबै विश्वयुद्ध, स्पेनिस गृहयुद्ध, स्पेनिस फ्लु महामारीबाट बाँच्दै २०२० मा संसारभरी भैलिएको कोभिड १९ को माहामारीबाट पनि बाँच्न सफल भइन् ।

उनी कारोनाको सङक्रमित हुँदा ११३ वर्षकी थिइन् । तर उनी केही दिनमै पूर्ण रूपमा निको हुन सफल भइन् र विश्वको सबैभन्दा वृद्ध कोभिड–१९ सर्भाइभर बनिन् । लुसिल रान्डनले पछि यो रेकर्ड तोडिकी थिइन् ।