त्रिविमा सुरक्षा प्रबन्ध मिलाउन शिक्षामन्त्री भट्टराईले गुहारिन् गृह मन्त्रालय


काठमाडौं– शिक्षामन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयमा सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीसँग माग गरेकी छिन् । केही दिनदेखि विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमलाको प्रयास र प्राध्यापकहरूलाई धम्की आएको भन्दै शिक्षामन्त्री भट्टराईले गृहमन्त्रीसँग सुरक्षा प्रवन्धको माग गरेकी हुन् ।

मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाबारे बाध्य भएर सामाजिक सञ्जालमा लेख्नुपरेको स्पष्टिकरण दिएकी छन्। मन्त्री भट्टराईले त्रिभुवन विश्वविद्यालयको सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरेकी थिइन्। आफ्नै सरकार हुँदा पनि सामाजिक सञ्जालमार्फत् त्रिविको सुरक्षा माग गरेको भन्दै उनको आलोचना भएको थियो।

त्रिविका पदाधिकारीहरूमाथि हमला गर्न खोजेको र प्राध्यापकहरूलाई फोनमा धम्की दिने गरेकोले उनले सुरक्षाको माग गरेकी हुन्। आफूले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत उनले जनाएकी छन्।

उनले लेखेकी छन्, ‘यहाँहरूले मलाई आवश्यक सुझाव दिनु भएकोमा आभारी छु। मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले ५ दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारि गराउन चाहन्छु।’