घरमा बिरामीले थलिए वृद्ध दम्पत्ती, हेरचाह गर्ने कोही नहुँदा अस्पताल लग्न ढिलाई


मोरङ- उखरमाउलो ज्वरोले एक वृद्धा थलिएर टहरोको आँगनमा पल्टिएकी छिन् । दुखाई सहन नसकेर हँहँ गर्दै छिन् । टहरोभित्र उनै वृद्धाको श्रीमान निकै कमजोर देखिएका छन् । उनी श्रीमतीको ख्याल राख्ने शक्ति छैन । उनी आफैँ निकै दुब्लो, ख्याटो र रोगी देखिन्छन् ।

मोरङको बेलबारी नगरपालिका ७ का भिम बहादुर तामाङ दम्पत्ती उक्त अवस्थामा देखिएका हुन् । अति विपन्न तामाङ दम्पत्तीको आफ्नै घर र जग्गा छैन । उनीहरु ऐलानी जग्गामा बस्दै आएका छन् । घर नभएकाले उनीहरुलाई वडाले सहयोगमा दिएको जस्तापाता हालेर छाप्रो बनाइएको छ । उनीहरु सोही छाप्रोमा बस्दै आएका छन् । उनीहरुको हेरचाह गर्नका लागि घरमा कोहीपनि छैनन् । हेरविचार गर्ने कोही नहुँदा उनीहरु निकै नाजुक अवस्थामा देखिएको हो ।

मंगलबार उक्त अवस्थामा देखिएका तामाङ दम्पत्तीको बेलबारी ७ की वडाध्यक्ष सुनिता चौधरीको निर्देशनमा उपचारका लागि सोहि दिन अस्पताल लग्ने तयारी भएको थियो । तर दम्पत्तीको परिवारका कोहीपनि सम्पर्कमा नआएपछि जटिल अवस्थामा उपचारको लागि परिवारको सहमति चाहिनेभन्दै वडाले अस्पताल लगिहाल्ने आँट गर्न सकेन । भोलीपल्ट स्थानीयले दम्पत्तीको हेरचाह गर्ने जिम्मेवारी लिएपछि बिहानै उनीहरुलाई उपचारको लागि अस्पताल लगियो ।

‘दम्पत्तीको जिम्मेवारी लिने र हेरचाह गर्ने मानिस नपाएपछि मंगलबार अस्पताल लिएर जान सकेनौँ,’ वडा नं ७ की अध्यक्ष सुनिता चौधरीले बताइन् । उनले भनिन्, ‘बुधबार बिहान नै उहाँहरुको हेरचाहको लागि छिमेकीलाई साथमा लिएर एम्बुलेन्समार्फत कोशी अस्पतालमा लिएर गयौँ ।’

हाल दुबैजनाको कोशी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनीहरुको हेरचाह गर्नका लागि गएका छिमेकीको खाना र बासस्थानको खर्चसमेत वडाले नै व्यहोरिरहेको वडाध्यक्ष चौधरीले सुनाइन् । उनका अनुसार दम्पत्तीकी एक छोरी छिन् तर उनी वडाको सम्पर्कमा आएकी छैनन् । उनीहरुका भतिजासँग पनि वडाबाट सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेको छैन ।

त िविपन्न दम्पती मात्र घरमा बस्दै आएका छन् । उनीहरुको आर्थिक र स्वास्थ्य अवस्था ठीक नभएकाले समयसमयमा आफु बुझ्न जाने गरेको उनले बताएन् । वडाध्यक्ष चौधरीले भनिन्, ‘एक महिनाअघि १५ हजार रुपैयाँ नगद र खाद्यान्न लिएर उहाँहरुलाई भेट्न गएका थियौँ । पछिल्लो एक हप्तादेखि म त्यहाँ जान भ्याएको थिइनँ । उहाँहरुको स्वास्थ्य अवस्था निकै बिग्रीएछ ।’

हाल वृद्ध दम्पत्तीलाई अस्पताल लगिसकेकाले छिट्टै स्वास्थ्य समस्या पत्ता लाग्ने र उचित उपचार पाउनेमा उनी ठुक्क सुनिइन् । तामाङ दम्पत्तीको सम्पूर्ण उपचार खर्च र औषधीको व्यवस्था वडा कार्यालय र नगरपालिका मिलेर व्यहोर्ने उनले सुनाइन् ।