पाठेघरको ट्युमर निकाल्न पुगेकी महिलाको शल्यक्रियाको क्रममा मृत्यु


चितवन- पाठेघरको सामान्य शल्यक्रिया गर्न पुगेकी महिलाको शल्यक्रिया गर्ने क्रममा मृत्यु भएको छ । चितवनको भरतपुर अस्पतालमा पाठेघरको शल्यक्रिया गर्ने क्रममा भरतपुर महानगरपालिका–१२ मुनाल चोक बस्ने ३९ वर्षीया सम्झना काफ्लेको मृत्यु भएको हो । उनको मंगलबार पाठेघरको शल्यक्रिया गरेर बायोप्सी निकाल्ने क्रममा मृत्यु भएको हो ।

माइनर शल्यक्रिया गर्दा नै उनको मृत्यु भएपछि उनको आफन्तले आफन्तले शव बुझ्न मानेका छैनन् । अस्पतालका सूचना अधिकारी गोपाल पौडेलले पाठेघरको बायोप्सी निकाल्दा बेहोस बनाउने क्रममा उनको मृत्यु भएको बताए।

उनको पाठेघरमा मासु पलाएको भन्दै शल्यक्रिया गरेर बायोप्सी निकाल्न लागिएको थियो । काफ्लेको पहिल्यैदेखिनै मुटुमा समस्या भएकाले अवस्था जटिल बनेको अस्पतालले दाबी गरेको छ । उनको शल्यक्रिया गर्ने क्रममा बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आइसीयूमा राखिएको थियो । तरपनि काफ्लेको ज्यान बचाउन नसकिएको सूचना अधिकारी पौडेलले जानकारी दिए।

मृतक महिला भदौ ३ मा पाठेघरको ट्यूमरको शल्यक्रियाका लागि भरतपुर अस्पतालमा भर्ना भएकी थिइन् । मंगलबार बिहान ९ बजे शल्यक्रिया थियटरमा राखी लठ्ठाउने सुई लगाइ बेहोस बनाउने क्रममा उनको होस नआएको पौडेलले बताए ।

घटनाको छानबिनको लागि अस्पतालले आन्तरिक छानविन समिति बनाएको छ । मृतकका आफन्तले भने अस्पतालले उपचारमा गम्भिर लापरवाही गरेको भन्दै शव लिन मानिरहेका छैनन् ।