बिरालोको दिसाबाट बनाइन्छ संसारकै महँगो कफी


काठमाडौं– महँगो कुरा खानु मानिसहरुको सोख हो । यस्ता सौखिन खानेकुरा बन्ने तरिका पनि निकै रोचक छ । संसारमा निकै विशेष मानिने र सबैभन्दा महँगो कफी बन्ने विधि झनै रोचक छ ।

इन्डोनेसियामा बन्ने संसारकै सबैभन्दा महँगो कफीमध्ये एक हो, कोपी लुवाक । यसको बन्ने विधिका कारण यो निकै महँगो छ । कोपी लुवाक इन्डोनेसियामा पाइने एक बिरालो जस्तौ प्रजाती पाम सिभेटको दिसाबाट बनाइन्छ ।

सुन्दै घिन लाग्ने यो विधि फोहोर नहुने त्यहाँका उत्पादक कम्पनी बताउँछन् । पाम सिभेट नामको जनावरले उत्तम प्रकारका कफिको चेरी खाएर पचाउँछ । चेरी खाएपनि यसले कफिको बियाँ पचाउन सक्दैन । त्यसैले यसले दिसामार्फत कफीको बियाँ उत्सर्जन गर्छ । बिरालोजस्तै देखिने पाम सिभेटले उत्सर्जन गरेको उक्त कफी बिनको बाहिरी भागलाई प्रशोधन गरेर हटाइन्छ र सफा बनाइन्छ । र बाँकी रहेको कफी बिन्सलाई भुटिन्छ । त्यसपछि तयार भएको कफीलाई सफा गरेर उपभोक्तालाई बिक्री गरिन्छ ।

विशेषगरि कोपी लुवाक कफीको नाम नभएर कफी बनाउने विधि हो । यस विधिको प्रयोग गरेर इन्डोनेसियाको पाङगालेगान हाइल्यान्डमा कफीको उत्पादन गरिन्छ । यस विधिको प्रयोगबाट बनाइएको कफी निकै नै स्वादीलो हुने गरेको बताइन्छ । यो कफि पूर्णरुपमा तितो हुँदैन । यो कफीमा चिल्लो, माटो र चकलेटको जटिल किसिमको मिश्रित स्वाद पाइन्छ ।

कफीलाई इन्डोनेसियामा कोपी भनिन्छ । बिरालोसँग मिल्जुल्दो एक प्रजातीको जनावरलाई इन्डोनेसियामा लुवाक भनिन्छ । त्यसैले कोपी लुवाकलाई बिरालो दिसा कफी अर्थात क्याट पुप कफी पनि भनिन्छ ।