म्याग्दी — गत साउन २७ मा बेनी नगरपालिका–९ गिठिनी कालीमुल जंगलमा गाडेको अवस्थामा फेला परेको मिना परियारको गर्भमा भ्रुण रहेको खुलेको छ । सात महिनाअघि बेपत्ता मिनाको शवसँगै सडेगलेको अवस्थामा मृत भ्रुण रहेको पोस्टमार्टम रिपोर्टले पुष्टी गरेको हो ।
२०८० पुस १६ गते राति घरबाट बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीया मीना परियार बेपत्ता भएकी थिइन् । अन्तरजातिय प्रेमसम्बन्धमा रहेकी उनको शव गत साउन २७ गते जंगलमा फेला परेको थियो । स्थानीयले गाडेको अवस्थामा शव फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । जमिनमुनि गाडेको शव उत्खनन गर्दा अनुहार र लिंग पहिचान हुन सकेको थिएन ।
शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल समेतका कपडाहरुबाट उक्त शव करिब ८ महिनादेखि बेपत्ता १९ वर्षीया मीनाकै भएको भन्दै परिवारले सनाखत गरेको थियो । उक्त शव सनाखतपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल रामघाट पोखरामा पोस्टमार्टम गरिएको थियो । रिपोर्टमा उक्त शव महिलाको भएको, धारिलो हतियार प्रयोग गरी हत्या गरिएको र पेटमा भ्रुणसमेत रहेको पुष्टी भएको छ ।
मिनालाई बेपत्ता पारेको आरोपमा उनका प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम खत्री पुर्पक्षका लागि थुनामा छन् । गलेश्वर माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत मीना र रामबीच प्रेम सम्बन्ध रहेको थियो । उनीहरुबीच पटक–पटक यौन सम्पर्क भएको र मीनाको ६ महिनाको गर्भ रहेको खुलेपछि रामले पटक–पटक उक्त गर्भपतन गर्न दबाब दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो । तर आरोपित खत्रीले प्रेम सम्बन्ध भई यौन सम्पर्क भएको स्वीकार गरे पनि हत्या, बेपत्ता पारेको आरोप भने अनुसन्धान गर्ने प्रहरी, मुद्दा अभियोजन गर्ने सरकारी वकिल र अदालतमा इन्कारी बयान दिँदै आएका थिए ।
अब जिल्ला प्रहरी कार्यालयले भ्रुण आरोपित राम खत्रीकै हो वा होइन भन्ने परीक्षण गर्न ‘मृत शरीर’ र मीना परियारका परिवारका सदस्यहरुको तथा मृत भ्रुण र आरोपी खत्रीको डीएनए संकलन गरी नेपाल प्रहरीको विधिविज्ञान प्रयोगशालामा पठाउने’ तयारी गरेको जनाएको छ ।
शव भेटिएसँगै मीनाको परिवारले ‘ज्यानसम्बन्धी कसुर’मा प्रहरी कार्यालयमा किटानी जाहेरी दायर गरेको छ । उनका बाबु चन्द्रे परियारले गत साउन ३० गते मीनाका प्रेमी समेत आमा, दाइ, भाइ र सालासमेत परिवारका ५ जनाविरुद्ध किटानी जाहेरी दायर गरेका हुन् ।
प्रतिक्रिया