२५ मृतकको शव लिएर फर्किइन् भारतकी राज्यमन्त्री रक्षा खड्से


काठमाडौं– तनहुँको आँबुखैरेनी नजिकै ऐनापहरामा भएको बस दुर्घटनाका मृतकहरुको शव भारतको मुम्बई लगिएको छ । भरतपुर अस्पतालमा पोस्टमार्टम सकेर भारतीय विमानमार्फत २७ मृतक मध्ये २५ वटा शव शनिबार मुम्बई लगिएको हो ।

शव भारत लिएर जान भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा खड्से चितवन पुगेकी थिइन् । २५ वटा शवसहित राज्यमन्त्री खड्से चितवनबाट सिधै मुम्बइ फर्किएकी छिन् । बाँकी दुईवटा शव भने स्थलमार्गबाट भैरहवा हुँदै गोरखपुरतर्फ लगिएको छ । बसका चालक र सहचालकलाई स्थलमार्गबाट लगिएको हो ।

शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

भदौ ५ मा भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।

घाइते भएका दुर्घटनामा १६ जनाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार भइरहेको छ । उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।

शनिबार भारतबाट आइपुगेकी राज्यमन्त्री खड्सेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै त्रिवि शिक्षण अस्पताल पुगेर घाइतेहरुको अवस्थाबारे जानकारी लिएर चितवन प्रस्थान गरेकी थिइन् ।