विष्णु माझीको नयाँ तिजको गीत रातारात भाइरल, गीतसँगै विष्णु माझीको खोजी तीव्र


काठमाडौं– असारबाट नै तीजलाई लक्षित नयाँ गीतहरु सार्वजनिक भएका छन् । यस वर्षको तीजका भनिएका ३०० बढी गीत सार्वजनिक हुँदा केही अपवाद गीतबाहेकका गीत र म्युजिक भिडियोमा विकृतीले भरिएका छन् ।

विकृतीले भरिएको नयाँ तिजका गीतहरुको विरोधमा लोक दोहोरी प्रतिष्ठानदेखि आम दर्शकहरु उत्रिएका छन् । यसैक्रममा दर्शकहरु भने चर्चित लोक गायिका विष्णु माझीको गीत नआइकन तिज आएको जस्तो नहुने बताउँदैआएका थिए । अन्य तिजका गीतमा र सामाजिक सञ्जालहरुमा पनि दर्शकहरुले विष्णु माझीको तिजको गीतको प्रतिक्षा रहेको प्रतिकृया दिँदै आएका थिए ।

दर्शकको प्रतिक्षा अनुरुपनै विष्णु माझीको स्वरमा नयाँ तिजको गीत युट्युबमा सार्वजनिक भयो । गीत सार्वजनिक भएलगत्तै चर्चित पनि भइरहेको छ । पुतलीको भट्टी भाग २० भन्दै शनिबार सार्वजनिक भएको ‘आइन आमा यो तिजमा’ बोलको गीतले २४ घण्टामा नै १६ लाख भन्दा बढी भ्युज बटुलिसकेको छ । गीतमा १४ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् । गीतमा अधिकांशले प्रतिक्षाको फल पाएको भन्दै विष्णु माझीको सुमधुर स्वरको प्रशंसा गरेका छन् ।

‘आइन आमा यो तिजमा’ बोलको गीतमा तिजको समयमा माइत जान नपाएकी छोरीको कथा देखाइएको छ । साँच्चै नै दर्शकले तिजमा प्रतिक्षा गरेजस्तै मनछुने शब्दले भरिएको १७ मिनेट लामो गीतको भिडियोमा चेलीको दुःख देखाइएको छ । गीतमा टाउको फुटाइ रोकी छैन, ज्वाईले सौता हाल्या छैन भन्दै आमालाई छोरीले सुख पाएकी छु भनिरहेकी छिन् । तर गीतको भिडियोमा छोरीले पाएको दुख चुपचाप सहिरहेको देखाइएको छ । गीतमार्फत आमालाई सन्देश पठाउँदै आमाले दिएको सस्कारअनुसार घर गरी खाएको र ज्वाई असल पाएको भनिएको छ । तर भिडियोमा श्रीमानबाट नै पिडीत भएको देखाइएको छ ।

उम्त गीत गायिका माझीका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीतमा तयार भएको हो । आशिष अविरलको संयोजनमा रागामा रेकर्डस्‌मा रेकर्ड गरिएको गीतको भिडियो सुन्दरमणिकै निर्देशनमा तयार पारिएको छ । मौसम हिमालीको कोरियोग्राफी र शम्भु चालिसेले छायांकन गरेको भिडियो प्रवीन भट्टले सम्पादन गरेका हुन् । भिडियोमा ललिता पौडेल माइत जान नपाएकी चेलीको भूमिकामा छिन् ।

विष्णुको करिब तिन वर्ष अघि सार्वजनिक भएको चरी जेलैमा ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ निकै चर्चित भएको थियो । उक्त गीतले ५ करोड ३० लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । विष्णु माझीले गाएको ‘सालको पात टपरी’, ‘लालुमै’, ‘बोकेझार’, ‘छिपछिपे पानीमा लेउ’, ‘पिँडालु’ लगायतका गीतले करोडभन्दा बढी भ्युज बटुलेका छन् ।

तर सांगीतिक क्षेत्रमा विष्णु माझी जति चर्चित छिन् उती नै गुमनाम पनि छिन् । उनका वषौँ पुराना एक दुईवटा फोटो बाहेक दर्शकले विष्णुलाई देख्न पाएका छैनन् । उनी आफुले गाएको गीतको भिडियोमा त देखिनु परका कुरा कुनै कार्यक्रममा पनि देखिँदिनन् । विष्णु माझीलाई सामाजिक सञ्जालमा पनि भेट्न सकिँदैन ।

तीनवर्ष अघि विष्णुको सर्वाधिक चर्चा बटुलेको ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ गीतसँग उनको वास्तविक जीवनको समेत तुलना गरिएको थियो । विष्णु सार्वजनिक जीवनमा कतै नदेखिएकाले कतिपयले उनले जीवनपनि पतिको ‘जेल’मा वितेको बताएका थिए ।

उनी गीत रेकर्ड गर्न पनि आफ्नो पति सुन्दरमणिका साथमा रातको समयमा स्टुडियो जाने गरेकी छिन् । आफ्नै परिवारसँग लामोसमयसँग भेट नभएको र सार्वजनिक जीवनबाट गुमनाम भएको भन्दै करिब ६ वर्षअघि विष्णुको खोजी भएको थियो । राष्ट्रिय मानवअधिकार आयोगले विष्णुको खोजी गरेपछि सुन्दरमणिले विष्णुलाई जिल्ला प्रशासन कार्यालय स्याङ्जामामा हाजिर गराएका थिए । त्यक्रममा प्रहरीले विष्णुलाई परिवारसँग पनि भेटाएको थियो ।

त्यसयता दर्शक र अन्य संगीतकर्मीले विष्णुको खोजी गरिरहेका छन् । गायक तथा संगीतकार बसन्त थापाले शनिबार गीत सार्वजनिक भएपछि बल्ल तिज आए झै भो, प्यासीले पानी पाए झै भो भन्दै फेसबुकमा लेखेका छन्, ‘सफलताको शुभकामना सुन्दरमणि दाइ । हीरा लुकाएर किरालाई मौका मिलेको छ, तिम्रो बुद्धि फिरोस्, कामना ।’

यस्तै गीतको भिडियोका कमेन्टमा मनोज लेख्छन्, ‘भुमिगत नभएर फिल्डमा आए राम्रो हुन्थ्यो, बिष्णु दिदी’ । अर्का दर्शक मिलम मगरले लेखेका छन्, ‘विष्णु माझीलाई देख्न पाए राम्रो हुनेछ भन्ने यता हाजिर हुम्छ त’
टक बहादुर मगरले लेखेका छन्, ‘कति छोरी चेली हजुर जस्तै नजर बन्धमा छन् । कस्ले सुनी दिन्छर खै नारिको बेलौना । जहाँ हुनुहुन्छ खुशी सुखी रहनु । भगवानको वरदान सधैं रहिरहोस ।’

चर्चित गीत ‘जेलैमा हो, जेलैमा’ को सन्दर्भ उठाउँदै सीताराम सापकोटाले लेखेका छन्, ‘चरी पक्कै जेलमा छिन् । तर बेलाबेलामा चिरबिर गरेको सुनिन्छ । त्यही चरीको आवाज यति धेरै प्यारो लाग्छ ।’ त्यससँगै माझी सार्वजनिक जीवनमा आउनुपर्ने पक्षमा पनि आवाज उठेको छ । ‘विष्णु माझी अब लाखौं दर्शकहरूमाझ सार्वजनिक हुनुपर्छ भन्ने जति हाजिर हौं,’ भीम साउदले गीतको ‘कमेन्ट सेक्सन’मा लेखेका छन् ।