काठमाडौं – भारत बिहारमा नेपाली सवार बस दुर्घटना भएको छ । बिहारको समस्तीपुर जिल्लामा भएके बस दुर्घटनामा कम्तीमा ३० भन्दा बढी घाइते भएका छन् ।
४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिएको थियो । सोपछि बस अनियन्त्रित भइ पल्टिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
समाचारअनुसार दुर्घटनामा तीन दर्जन यात्री घाइते भएका छन् । एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ ।
सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।
एसएपी सञ्जय पाण्डेका अनुसार घाइतेहरु नेपालको बारा जिल्ला निवासी हुन् । उनीहरु जल चढाउनका लागि झारखण्डको देवघर तीर्थका लागि जाँदै गर्दा दुर्घटनामा परेको बताइएको छ । बस बाराबाट शुक्रबार बिहान ११ बजे हिँडेको र आइतबार बिहान ३ बजेतिर दुर्घटनामा परेको बताइएको छ ।
यद्यपी बाराका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले भने घटनाबारे आफूलाई जानकारी नभएको बताए ।
यसअघि शुक्रबार ४३ जना भारतीय यात्रुहरु सवार रहेको बस नेपालमा दुर्घटनामा परेको थियो । शुक्रबार आँबुखैरेनीको ऐना पहरा नजिकै भारतीय पर्यटक बोकेको बस दुर्घटनामा परेको हो ।। दुर्घटनामा बसमा सवार ४३ जनामध्ये २७ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।
भदौ ५ मा भारतको गोरखपुर हुँदै पोखरा पुगेका भारतीय पर्यटकहरू शुक्रबार बिहान काठमाडौंका लागि पोखराबाट हिडेका थिए । उनीहरू सवार यूपी ५३ एफटी ७६२३ नम्बरको बस शुक्रबार बिहान साढे ११ बजे मर्स्याङ्दी नदी किनारमा खसेको थियो ।
दुर्घटनामा ज्यान गुमाएकाको शव शनिबार भारत लगिएको छ भने घाइतेहरुको काठमाडौंकाे महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया