Logo

काठमाडौंमा पनि धुमधामका साथ मनाइयो गौरा पर्व

काठमाडौं, १० भदौ । काठमाडौंमा गौरा पर्व धुमधामका साथ मनाइएको छ । गौरा पर्वको अवसरमा काठमाडौंको टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री भीम रावललगायतका शीर्ष नेताहरुको पनि सहभागिता रहेको थियो ।

गौरा पूजनका हिसाबले आजको दिनलाई महिलाहरूले महत्वपूर्ण मान्दछन् । महिलाहरूले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरा देवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आँगनमा ल्याई शृङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर नाच्ने गर्दछन् । आठ अध्यायमा महेश्वर र गौरा गीतलाई महिलाले गाउने हुनाले यसलाई अठेवाली पनि भन्ने गरिन्छ ।

हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैँ अविवाहित युवतीले शिवझैँ पति पाउँ भनी व्रत बसेको अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउको राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् ।

धुमारी, ढुस्को र ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिकग्रन्थमा आधारित कथा भन्ने गरिन्छ । बिरुडा भिजाएर सुरु हुने गौराको विसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् । भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुनः भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साऊँलगायत बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।

गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतीक महेश्वर मानेर राख्ने गरिन्छ । यस बेलामा दुवधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन् भने कसैले फलाहार गर्छन् ।

यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् । अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् ।

प्रतिक्रिया दिनुहोस्