Logo

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नयुक्त

काठमाडौं– चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी) नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको हो ।

तीन दशकदेखि नेपाली चलचित्र उद्योगमा सक्रिय रहेका डीसी फिल्म निर्देशक, अभिनेता तथा संचारकर्मी समेत हुन् । उनी सत्तारुढ एमाले निकट जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्ष समेत हुन् । टेलिभिजन तथा रेडियो कार्यक्रमका निर्माता र प्रस्तोताको रुपमा समेत उनको निकै नाम छ ।

सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट उनले अभिनयमा डेब्यु गरेका थिए । उनले पछिल्लोपटक फिल्म ‘फूलैफूलको मौसम तिमीलाई’ निर्देशन गरेका थिए ।

उनी चलचित्र निर्देशक समाजका पूर्वअध्यक्ष समेत हुन् । उनले वर्षेनी फिल्म अवार्डको समेत आयोजना गर्दै आइरहेका छन् । यसअघि चलचित्र विकास बोर्डको अध्यक्ष पदमा अभिनेता तथा निर्माता भुवन केसी थिए । उनको कार्यकाल सकिएपछि रिक्त पदमा मन्त्रिपरिषद्ले दिनेश डीसीलाई नियुक्त गरेको हो ।

सो पदका लागि धेरैको आवेदन परेको थियो । अभिनेत्री करिस्मा मानन्धरले पनि चलचित्र विकास बोर्डको अध्यक्षका लागि आवेदन दिएकी थिइन् । डिसी, मानन्धरका साथै दीपा पाण्डे, राजेश थापा, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोल गरि ६ जनाको आवेदन स्विकृत भएको थियो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्मा डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस गरेको थियो । तीन जनामा मन्त्रिपरिषद्ले दिनेश डिसीको नाम स्विकृत गरेको हो ।

अध्यक्ष पदमा आवेदन दिँदा देखिनै डिसीले आफू नियुक्त भएमा फिल्म बजार विस्तार गर्ने, बक्सअफिसलाई सुचारु गर्ने, नेपाली फिल्मलाई अन्तर्राष्ट्रियकरण गर्ने प्रतिवद्धता जनाउँदै आएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्