Logo

अमेरिकामा नेपाली विद्यार्थी हत्या प्रकरणः सीसीटिभी फुटेजमा के देखियो ?

काठमाडौं– अमेरिकाको ह्युस्टन शहरमा नेपाली विद्यार्थीलाई गोली हानी हत्या गरेको अभियोगमा पक्राउ परेका बबि सिंह शाहलाई प्रहरीले अदालतमा उपस्थित गराएको छ ।

अदालतमा शाह पक्षका वकिलहरुले उनलाई जमानतमा छाड्नुपर्ने तर्क गरेका थिए । जवाफमा अभियोजनकर्ता पक्षले सीसी क्यामराको फुटेज र त्यसको विश्लेषण प्रस्तुत गरेको थियो । सोहि आधारमा अदालतले उनको संलग्नता देखिने आधारहरु रहेको भन्दै जमानतमा छाड्न अस्वीकार गरेको छ । यो मुद्दामा अर्को सुनुवाइ मंगलबार अमेरिकी समयअनुसार बिहान ९ बजेका लागि तोकिएको छ ।

मंगलबार डिटेक्टिभहरुले घटनासँग सम्बन्धित सीसीटिभी फुटेज फेला पारेका थिए । क्लिकटुह्युस्टन डटकमले उनीहरुले शनिबार मुनाको अपार्टमेन्टको ढोका नजिकको फुटेज संकलन गरेको लेखेको छ । क्लिकटुह्युस्टनका अनुसार फुटेजमा बेलुका ८ः४० बजेतिर शाह उनको ढोकामा पुगेको देखिन्छ ।’

फुटेजमा देखिएअनुसार त्यसबेला मुना जुत्ताको बट्टा, सपिङ झोला, कालो ज्याकेट र पर्स बोकेर उभिएकी थिइन् ।

शाहले आफूसँग पेस्तोल बोकेका थिए र पटकपटक ढोका खोल्नलाई भनेका थिए । पाण्डेले ‘ह्वाट आर यू गोइङ टु डु’ भन्दै प्रश्न गरेको पनि सीसी टीभीको अडियोमा सुनिएको भनिएको छ ।

समाचार अनुसार २१ वर्षीया पाण्डेले ढोका खोल्नेबित्तिकै शाहले उनलाई भित्र धकेलेका थिए र ढोका बन्द गरेका थिए ।

एक घण्टापछि शाह अपार्टमेन्टबाट निस्किएको देखिएको छ । त्यही समयमा अपार्टमेन्ट वरिपरि बस्नेहरुले ठूलो आवाज सुनेको प्रहरीसँग बयान दिएका छन् । पाण्डेले सुरुमा बोकेको कालो पर्स बोकेर उनी निस्किएको शंका गरिएको छ ।

बुधबार प्रहरीले सीसी टीभीमा देखिएका संदिग्ध व्यक्तिको तस्वीर सार्वजनिक गर्दै उनीबारे सूचना दिन भनेको थियो । त्यसको आधारमा उनलाई प्रहरीले अपराह्न ह्युटनको उत्तरपश्चिम क्षेत्रमा रहेको ट्राफिक स्टपबाट नियन्त्रणमा लिएको थियो ।

मुना सन् २०२१ मा स्नातक तह अध्ययनका लागि अमेरिका गएकी थिइन् । उनी ह्युस्टन कम्युनिटी कलेजमा नर्सिङ अध्ययनरत थिइन् । स्थानीय एक स्टोरमा समेत उनी काम गर्दै आएकी थिइन् ।

 

प्रतिक्रिया दिनुहोस्