सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु
नवलपुर– नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ रानीनगरमा निर्माणाधीन सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको मृत्यु भएको छ। सेफ्टीट्याङकीमा निसास्सिएर मृत्यु हुनेमध्ये एकजना मजदुर हुन्, एकजना घरधनीका छोरा हुन् भने अर्का एक छिमेकी हुन्।
भोलासिंह क्षेत्रीको निर्माणाधीन घरको ट्वाइलेटको सेफ्टीट्यांकीभित्र काम गर्ने क्रममा तीनैजना अचानक बेहोस भएका थिए। उपचारका लागि अस्पताल पुर्याइएकोमा उनीहरूको मृत्यु भएको हो।
निसास्सिएर घरधनी भोलाका ३८ वर्षीय छोरा प्रकाशसिंह क्षेत्री, विनयी त्रिवेणी– ७ का १९ वर्षीय गणेश बोगटी र पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका– ७ का २८ वर्षीय मोहम्द राजा छन्।
अक्सिजनको अभाव भएर बेहोस भएका उनीहरूलाई उपचारका लागि लगिएकोमा प्रकाशको परासीस्थित जिल्ला अस्पताल पृथ्वीचन्द्र अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ। बोगटी र मोहम्मद राजाको भीम अस्पताल भैरहवामा मृत्यु भएको हो।