तीन दिनदेखिको वर्षापछि गुजरातमा घरको छतमा देखियो गोही


काठमाडौं– मनसुनको समयमा वर्षासँगै बाढी, पहिरो, डुबानमा पर्नसक्ने भय हुन्छ । तर भारतको गुजरातमा अत्यधिक वर्षासँगै आएको बाढीका कारण घरको छतमा गोही देखा परेका छन् ।

भारतको गुजरातको विभिन्न ठाउँमा घरमा नै गोही पसेको हो । घरको छतमा पानी भरिएपछि त्यहाँ गोही देखा परेका हुन् । बिहीबार आएको भारी वर्षापछि अकोटा क्षेत्रमा घरको छतमा गोही देखिएको छ ।

उता फतेहगञ्ज क्षेत्र नजिकै कामनाथ नगरमा १५ फिट लामो गोही देखिएको छ । गोही मानिसको घर भित्र नै प्रवेश गरेको हो ।

यस्तै बडोदराको महाराजा सयाजीराव विश्वविद्यालय क्याम्पसमा गोही देखिएको थियो । गोहीलाई वन विभागको टोलीले उद्धार गरेको छ । बाढीका कारण मानिसहरु फसेका समेत थिए । वायुसेनाको हेलिकप्टरको सहयोगमा द्वारकाको कल्याणपुरमा फसेका चार जनाको उद्धार गरिएको थियो ।

सोहि दिन गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गरेका थिए। कुराकानीको जानकारी दिँदै भूपेन्द्र पटेलले एक्समा लेखे , “गुजरातमा विगत तीन दिनदेखि भारी वर्षा भइरहेको छ, प्रधानमन्त्री मोदीले आज बिहान मसँग टेलिफोनमा कुरा गरी अवस्थाबारे जानकारी लिनुभयो ।”

बडोदराको विश्वामित्री नदीमा आएको बाढीप्रति चिन्ता व्यक्त गर्दै उहाँले प्रभावित मानिसहरूलाई दिइँदै आएको राहत र सहयोगको विवरण मोदीले मागेको उनले बताइका छन् । बाढी प्रभावित क्षेत्रहरूमा सरसफाइ र सार्वजनिक स्वास्थ्य लगायतका विषयमा निर्देशन दिएको उनले जानकारी दिएका छन् । सार्वजनिक जीवन पुनर्स्थापना गर्न केन्द्र सरकारबाट सबै सकेको सहयोग गर्ने प्रधानमन्त्री मोदीले आश्वासन दिएको उनले बताएका छन् ।