Logo

बालबालिकालाई अपराध सिकाउने स्कुल भएका अनौठा गाउँ, अपराधमा स्नातक गर्न तीन लाख शुल्क

काठमाडौं– विद्यालयलाई त्यस्तो पवित्र ठाउँको रुपमा लिइन्छ जहाँ ज्ञानगुन, जिवनोपयोगी सीप र आदर्शको कुरा सिकाइन्छ । तर हालसालै एउटा त्यस्तो विद्यालयको बारेमा कुरा बाहिर आएको छ जहाँ यि सबै कुरा सिकाइँदैन ।

भारतको मध्यप्रदेशका राजगढ जिल्लाका केहि गाउँमा शिक्षा दिनुको साँट्टो अपराध गर्न सिकाउने विद्यालय छन् । भोपालबाट करिब ११७ किलोमिटर टाढा रहेका कादिया, गुलखेडी र हुलखेडीमा साना बालबालिकाहरुलाई अपराध गर्न सिकाइन्छ । उक्त क्षेत्रलाई भारतमा ‘अपराधीको नर्सरी’ भनेर चिनिन थालेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।

त्यहाँका बालबालिकालाई सानै उमेरमा चोरी, डकैती र डकैतीका युक्तिहरू सिकाइन्छ। लाखौँको चोरीको घटनामा प्रहरीले अपराधीहरूको एक समूहलाई पक्राउ गरेपछि यो गाउँ चर्चामा आएको हो ।

यी गाउँमा आमा बुबानै आफ्ना १२–१३ वर्षका बालबालिकालाई अपराधबारे सिकाउन सरगाना अर्थात् चोरका नेतालाई जिम्मा लगाउँछन् । बालबालिकालाई चोरी डकैतीमा स्नातक गर्न सरगानालाई २–३ लाख भारतीय रुपैयाँ शुल्कसमेत बुझाउँछन् ।

सरगानाले बालबालिकालाई पाकेटमार गर्ने, भीडबाट झोला चोर्ने, छिटो दौडने, प्रहरीबाट टाढै बस्ने र कुटपिट सहने युक्तिहरू सिकाउँछन् । बच्चालाई एक वर्षको लागि गिरोहमा काम गर्न लगाएर प्राक्टिकलसमेत गराउँछन् । बदलामा बालबालिकाका अभिभावकलाई वार्षिक तीनदेखि पाँच लाख रुपैयाँ दिन्छन्।

यी गाउँका धनीहरूले पनि बालबालिकालाई केहि वर्ष भाडामा लिने गर्छन् । १–२ वर्षको लागि २० लाख भारुसम्म तिरेर बालबालिकालाई डकैतीमा लगाउँछन् । निम्न वर्गका परिवार भएपनि बालबालिकालाई धनी बच्चाहरूजस्तै देखिन र बोल्न तालिम दिइन्छ ताकी उनीहरु चोरीका लागि ‘हाइ प्रोफाइल’ विवाहमा भाग लिन सकुन् ।

बालबालिकाका साथै महिलाहरुपनि यस्ता अपराधमा सामेल हुँदै आएको त्यहाँका संचारमाध्यमले जनाएको छ । बाहिरको मान्छे देख्नेबित्तिकै कान नसुन्ने नाटक गर्न थाल्छन्। यस गाउँमा कुनै अपरिचित व्यक्ति प्रवेश गरे वा क्यामेरा वा मोबाइलको क्यामेरा देखेमा गाउँले तुरुन्तै सचेत भइहाल्छन् ।

यस क्षेत्रमा प्रहरी पनि गइहाल्न आँट गर्न सक्दैनन् । यी गाउँमा पुग्नुअघि एउटा खोला पर्छ। प्रहरी खोलावारी पुग्दा कयौँपटक दुईपक्षबीच गोली हानाहानसम्म भएको छ।

यी गाउँहरूमा हजारौँ मानिस बसोबास गर्छन्। देशभरका दर्जनौँ प्रहरी थानाहरूमा यहाँका दुई हजारभन्दा बढी मानिसविरुद्ध आठ हजारभन्दा बढी मुद्दा दर्ता छन्। त्यहाँका अपराधीहरु बिना कुनै साधन गहना परीक्षण गर्न सक्छन् । त्यस क्षेत्रका प्रहरी अधिकारी जयदीपप्रसादका अनसार उनीहरूको मुख्य पेशा बालबालिकालाई चोरी सिकाउने, जुवा खेल्ने र मदिरा बेच्ने हो।

प्रतिक्रिया दिनुहोस्