Logo

जापानमा ३७ हजार नागरिकले घरमा एक्लैले प्राण त्यागे, एक सय ३० जनाको शव एक वर्षपछिमात्र फेला

एजेन्सी– जापानमा पछिल्लो ६ महिनामा हजारौँ मानिसहरु घरमा एक्लै मृत फेला परेका छन् । पछिल्लो ६ महिनामा ३७ हजार जना भन्दा धेरै मानिस घरमा एक्लै मृत फेला परेका हुन् ।

६ महिनामा ३७ हजार दुई सय २७ जना नागरिक आफ्नै घरमा एक्लै मृत फेला परेको जापान प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । मृत भेटिएकामध्ये ७० प्रतिशतभन्दा धेरै ६५ वर्ष माथि उमेर समूहका छन् ।

मृत भेटिएका मध्ये झण्डै ४० प्रतिशतको शव एक दिन भित्रै भेटिएको थियो । तीन हजार तीन सय ९३ जनाको शव एक महिनापछि फेला परेको थियो । एक सय ३० जनाको ज्यान गएको एक वर्षपछि मात्रै थाहा भएको बीबीसीले लेखेको छ ।

जापानमा बृद्धबृद्धाहरुको सङ्ख्या धेरै छ । अधिकांश वृद्धवृद्धा घरमा एक्लै बस्छन् । त्यसैले कसैले थाहा नपाई एक्लै ज्ज्यान जानेको दर बढिरहेको जापानी प्रहरीको प्रतिवेदनमा उल्लेख छ । संयुक्त राष्ट्र सङ्घले समेत जापानमा सबैभन्दा बढी वृद्ध उमेरका जनसङ्ख्या रहेको उल्लेख गरेको छ । वृद्धावस्थासँगै एक्लोपन गम्भीर समस्याका रुपमा देखा परेको छ ।

जापानमा मानिसहरु विवाह गर्न खासै रुचाउँदैनन् । विवाह गरेपनि सन्तान जन्माउन रुची नदेखाउँदा जन्मदर निकै न्युन छ । त्यसैले त्यहाँ वृद्ध मानिसहरुको जनसङ्ख्या उच्च छ ।

सन् २०५० सम्म जपानमा ६५ वर्षभन्दा बढी उमेर समूहका नागरिकको सङ्ख्या एक करोड ८ लाख पुग्ने आँकलन गरिएको छ । सन् २०२० को तथ्याङ्कअनुसार जापानका ३८ प्रतिशत मानिसहरु एक्लै बस्छन् ।

सन् २०३३ मा यो सङ्ख्या बढेर ४४ प्रतिशत भन्दा धेरै हुने अनुमान् छ । सन् २०३३ मा जापानमा प्रतिपरिवारमा सदस्य सङ्ख्या औषतमा दुई जना भन्दा कम हुने अनुमान् छ ।

प्रतिक्रिया दिनुहोस्