भारतबाट निर्यात नहुँदा आकासिँदै सुकेको प्याजको मुल्य


काठमाडौं– भारतबाट निर्यात हुन छाडेपनि नेपालमा सुकेको प्याजको मूल्य आकासिएको छ । भारतीय प्याजको अभावमा पछिल्लो समय बजारमा सुकेको प्याजको मूल्य बढ्न थालेको हो ।

अहिले भारतबाट खासै प्याज आएको छैन । भारतले अनौपचारिक रुपमा प्याज निर्यात रोकेपछि बजारमा प्याज कम पाउन थालेका छन् । जसकारण पछिल्लो एक सातामा प्याजको मूल्य ३० प्रतिशतले बढेको छ ।

कालीमाटी फलफूल तथा बजार विकास समितिको तथ्यांकले पनि प्याजको मूल्य बढेको देखाउँछ। समितिको तथ्यांक हेर्दा गत आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक एक सयदेखि एक सय पाँच रूपैयाँमा कारोबार भएको थियो।

आइतबार प्रतिकिलो प्याज थोक मूल्य एक सय २६ देखि एक सय २८ रूपैयाँमा कारोबार भएको छ। उता प्याजको मुल्य बढेसँगै बजारमा आलुको मूल्य पनि बढ्न थालेको छ ।

बजारमा आलु रातो, र सेतो गरी दुई प्रकारका आउँछन्। त्यसमध्ये रातो आलु भारतीय बजारबाट पनि आउँछ। आइतबार कालीमाटी बजारमा प्रतिकिलो थोक मूल्य आलु रातो ६५ देखि ७२, रातो आलु भारतीय ५६ देखि ६०, रातो आलु मुडेको ६० देखि ६२ र सेतो आलु ५५ देखि ५८ रूपैयाँ छ।

यो गत हप्ताको भन्दा १० प्रतिशतले बढी हो । गत आइतबार आलु रातो ६५ देखि ७०, रातो आलु भारतीय ५५ देखि ५८, रातो आलु मुडेकोे ६० देखि ६२ र सेतो आलु ५४ देखि ५५ रूपैयाँ प्रतिकिलो थोक मुल्य रहेको थियो ।