श्रीमानसँग झगडा परेपछि दुई नाबालक छोरीको हत्या
मोरङ- मोरङमा श्रीमानसँग झगडा परेपछि एक महिलाले आफ्ना दुई छोरीको हत्या गरेकी छिन् ।
श्रीमानसँग नयाँ बन्दै गरेको घरमा पानी नहालेको निहुमा झगडा गरेर निस्किएकी महिलाले आफ्ना दुई छोरीको हत्या गरेको आशंका प्रहरीले गरेका छन् । धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की ट्याक्सी चलाउँछन् । उनी इजहरी– भोजपुर जाने ट्याक्सी चलाउँछन् भने परिवारसहित मोरङको सुन्दरहरैंचामा बस्दै आएका छन् । सुन्दरहरैंचामा नै उनले नयाँ घर समेत बनाइरहेका छन् ।
उनी ट्याक्सी चलाएर शुक्रबार भोजपुरबाट घर फर्किएका थिए । तर घर पुग्ने बित्तिकै उनलाई नयाँ बनेको घरमा पानी नहालेको देखे । र सोहि विषयमा उनको श्रीमती अस्मितासँग विवाद सुरु भयो । विवादपछि श्रीमतीले तीन वर्षकी छोरी अर्पणा र एक वर्षकी आइकालाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएको श्रीमान अर्जुनले प्रहरीसमक्ष बयान दिएका छन् ।
अस्मिताले घर छाडेपछि सोहि राती ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै म्यासेज गरेको अर्जुनले प्रहरीलाई बताएका छन् । श्रीमती र छोरीहरुको सोही राति खोजी गरेर नभेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा भोलिपल्ट दिउँसो केराघारीमा अंगालो मारेको अवस्थामा दुई छोरीहरुको शव भेटिएको थियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो ।
दुई बालिकाको शव भेटिएपछि प्रहरीले महिलाले महिलाले पनि आत्महत्या गरेको आशंकामा खोजी गर्न थाल्यो । खोजी कार्यको चार दिनपछि उनी झापाको बिर्तामोडमा फेला परेकी छन् ।
अस्मिता बिर्तामोडमा हिँडिरहेको र मानसिक रुपमा विछिप्त रहेको पाइएको प्रहरीले जनाएको छ । उनलाई विराटनगरस्थित कोशी अस्पतालमा राखेर उपचार गरिरहेको र बालिकाको हत्याको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।