Logo

डाक्टर मौमिता देवनाथको हत्यापछि भारतमा नयाँ मोड, बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने कानुन पारित

भारत– भारतको पश्चिम बङ्गालमा बलात्कारीलाई मृत्युदण्ड दिनसक्ने व्यवस्थासहितको कानून पारित भएको छ । पश्चिम बङ्गाल राज्य विधानसभाले उक्त कानुन पारित गरेको हो । यस कानुन राष्ट्रपतिबाट अनुमोदन हुन भने बाँकी छ ।

नयाँ कानूनअनुसार बलात्कारको घटनामा पिडकलाई अहिले रहिआएको आजीवन जेल सजायका साथै मृत्युदण्डसम्मको सजाय हुनसक्ने व्यवस्था गरिएको छ। भारतको फौजदारी संहिता देशभर समान रूपमा लागू हुने भएकाले पश्चिम बङ्गालको यो नयाँ कानून धेरै हदसम्म प्रतीकात्मक रहेको विश्लेषण गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको कोलकातास्थित राधागोविन्द कर मेडिकल कलेज तथा अस्पतालमा गत अगस्ट ९ मा एक प्रशिक्षार्थी डाक्टरको अर्धनग्न शव फेला परेको थियो । नाइट ड्युटिमा खटिएकी ३१ वर्षीया प्रशिक्षार्थी डाक्टर मौमिता देवनाथको बलात्कारपछि विभत्स हत्या भएको थियो । घटनापछि पश्चिम बंगालका डाक्टरहरुले प्रशिक्षार्थी डाक्टरको न्याय र सुरक्षाको माग गर्दै चर्को आन्दोलन गरेका थिए ।

हप्तौँसम्म चलेको विरोध प्रदर्शनले बलात्कारका यस्ता क्रर घटनामा कडा सजायको व्यवस्था गर्न सरकारलाई दबाब परेको थियो ।

प्रतिक्रिया दिनुहोस्