Logo

मुना पाण्डे हत्यामा पक्राउ परेका बबिसिंह साह भारतीय नागरिक रहेको पुष्टी

काठमाडौं– अमेरिकामा नेपाली छात्रा मुना पाण्डेको हत्या आरोपमा पक्राउ परेका बबिसिंह साह भारतका रहेको खुलेको छ। २१ वर्षीय नेपाली छात्रा पाण्डेमाथि गोली चलाएर उनको हत्या गरेको आरोपमा प्रहरीले बबिसिंहलाई गत बुधबार प्रकाउ गरेको थियो।

उनीमाथी क्यापिटल मर्डर र गैरकानुनी रूपमा हतियार राखेको विषयमा उनीमाथि मुद्दा लगाइएको छ । बबिसिंहलाई मंगलबार अदालतमा उपस्थित गराइएको
छ ।

अदालतमा उपस्थित गराउँदा अभियुक्तको थप परिचय खुलेको न्युयोर्कबाट प्रकाशन हुने नेपाली सञ्चारमाध्यम नेप्योर्कले जनाएको छ। यसअघि अभियुक्त कहाँका हुन् भन्ने खुलेको थिएन।

मंगलबार सरकारी वकिलरहरूले अनुसन्धानका क्रममा बबिसिंहसँग अमेरिकाको नागरिकता नरही उनी भारतीय नागरिक रहेको सार्वजनिक गरेको छ। यद्यपि भारतको कुन ठाउँका हुन् भन्ने विषय अझै नखुलेको नेप्योर्कले उल्लेख गरेको छ।

मंगलबार अदालतमा उपस्थित गराइएको उनीमाथि गैरकानुनी हतियार राखेको मुद्दामा २५ हजार डलर जमानतमा तोकिएको छ। हत्या मुद्दामा भने जमानतमा छुट्न नदिने व्यवस्था छ।

सरकारी वकिलहरूले थप अनुसन्धान गर्दा मुना पाण्डेको शरीरका तीन ठाउँ र टाउकोको पछाडिपट्टीको भागमा एउटा गोली लागेको देखिएको बताएका छन्। अभियुक्तले पक्राउ पर्दाको समयमा समेत रगतका छिट्का लागेको सर्ट लगाएको अभियोजकहरूले अदालतमा बताएका छन्।

अर्को सुनुवाई बिहीबारका लागि तय भएको छ । क्यापिटल मर्डर मुद्दामा आजीवन काराबासदेखि मृत्युदण्ड सम्मको सजाय हुने व्यवस्था छ।

टेक्सासस्थित ह्युस्टन कम्युनिटी कलेजमा अध्ययनरत मुना सोमबार आफ्नै अपार्टमेन्टमा मृत भेटिएकी थिइन्। प्रहरीले मंगलबार ५१ वर्षीय बबिसिंह मुनाको अपार्टमेन्टबाट निस्कँदै गरेको सिसीटिभी फुटेज भेटेको थियो।

प्रहरीले प्रारम्भिक अनुसन्धानबाट बबिसि‌ंह डकैती गर्ने उद्धेश्यका साथ मुनाको अपार्टमेन्टमा गएको भनेको थियो। राति ८ः४० बजे अपार्टेमेन्टमा पुगेका उनी एक घन्टापछि निस्किएका थिए।

यस्तै मुनाकी आमा अनिताले अमेरिकाको भिसा प्राप्त गरेकी छन्।

 

प्रतिक्रिया दिनुहोस्