Logo

दल खोलेर एमालेसँग प्रतिस्पर्धामा आउन बालेनलाई एमाले नेता कृष्णभक्त पोखरेलको चुनौती

काठमाडौं– नेकपा (एमाले) का केन्द्रीय सदस्य कृष्णभक्त पोखरेलले अहिले जबरजस्ती रुपमा केपी शर्मा ओलीलाई अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको बताएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालले समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता प्रकारको भाष्यबाट सचेत हुनुपर्ने बताएका हुन् ।

काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहलक्षित गर्दै उनले भने, ‘अहिले जबरजस्तरुपमा भाष्य निर्माण गर्न खोजिँदैछ कि केपी ओली अनपपुलर भन्ने भाष्य निर्माण गर्न खोजिएको छ । हामी त्यसो चाहँदैनौं । लोकतन्त्रमा सबै फूलहरु फुल्न पाउनुपर्छ, हाँस्न पाउनुपर्छ भन्ने कुरा हो ।’

नेता पोखरेलले लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुने र एउटा दलको विकल्प अर्को दल हुने बताए । उनले काठमाडौं महानगरपालिका प्रमुख शाहलाई स्वघोषित पपुलरको संज्ञा दिँदै दल खोलेर एमालेसँग प्रतिस्पर्धा गर्न आउन चुनौति दिए ।
‘लोकतन्त्रको विकल्प लोकतन्त्र नै हो । एउटा दलको विकल्प अर्को दल हुनसक्ला । अरु साथीहरु आफूलाई स्वघोषित पपुलर भन्नुभएको छ, उहाँहरुले नि गरेहुन्छ नि त । दल खोलेर हामीसँग प्रतिस्पर्धामा आए हुन्छ । त्यो प्रतिस्पर्धाबाट जनताबाट अब्बल साबित भयो भने, आवधिक निर्वाचन प्रणाली लोकतन्त्रको सुन्दरता हो, हामी तयार छौं,’– उनले भने ।

साथै, प्रधानमन्त्री ओलीले बालेनलाई सहयोग नै गर्न चाहेको बताए । बालेनभने ओलीविरुद्ध लगातार नेगेटिभ ढंगले प्रस्तुत भइरहेको उनको भनाइ छ । एमालेका कुनै पनि नेता, सांसदहरुले अपराध गर्छ भने उनीहरुलाई दण्डित गर्न कसैले नरोक्ने पनि उनले बताए । ‘ओलीजी र बालेन शाहको बीचमा कुनै त्यस्तो म देख्दिनँ । ओलीले उहाँलाई जहिले पनि हामी उहाँलाई सहयोग गर्छौं भन्ने हिसाबबाटै कुरा राख्नुभएको छ । तर, बालेनजी लगाताररुपमा नेगेटिभ ढंगबाट प्रस्तुत हुनुभएको छ । प्रदेश सांसद रेखाजीको कुरा छ । उजुरी परेर प्रहरीले पक्राउ गर्ने प्रक्रिया किन थालेन रु एमालेले कहाँ बाधा गर्छ रु’ उनले प्रश्न गरे ।

नेता पोखरेलले पहिलो पटक नेपालको इतिहासमा समृद्धि पनि हाम्रो राष्ट्रको एजेण्डा बन्छ भन्ने कुराको सुरुवात केपी ओलीबाट भएको दाबी गरे । उनले आजको दिनसम्म समृद्ध नेपाल खुसी नेपालीको सपना साकार पार्न ओली लागिरहेको दाबी गरे ।

साथै, गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमा प्रधानमन्त्री ओली र पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि युवाहरुले व्यक्त गरेको आक्रोशलाई उनले जे मन लाग्यो त्यही मनपरी भएको बताए । जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हुन नसक्ने उनको भनाइ छ ।

‘पञ्चायतकालमा विरोध गर्नेहरुले कति वर्ष जेल बस्नुपरेको थियो रु अहिले त खुल्ला मञ्चको औपचारिक कार्यक्रममा प्रधानमन्त्रीको विरुद्धमा जे मन लाग्यो त्यो बोल्ने, जे मन लाग्यो त्यो बोल्नेलाई कुनै पनि कारबाही नगर्ने लोकतन्त्र हो रु’ उनले प्रश्न गरे ।

साथै, उनले एमाले–कांग्रेससहितको सरकारको मुल मुद्दा सुशासन र समृद्धि रहेको बताए । उनले जबरजस्ती रुपमा संविधान संशोधन नहुने पनि बताए । राष्ट्रिय सहमति गरेर नै संविधान संशोधनको प्रयास गरिने उनको भनाइ छ । ‘हामीले जबरजस्ती रुपमा संविधान संशोधन गर्न चाहेको छैनौं । त्यसमा राष्ट्रिय सहमति गरेरै संविधान संशोधन हुन्छ । संविधान कुनै बाइबल, कुरान होईन, यो संशोधनीय दस्ताबेज हो । एउटा अवधिमा यसलाई संशोधन गरौं भन्दा विभिन्न भ्रम पाल्न जरुरी छैन,’– उनले भने ।

साथै, भूकम्पका कारण लडेका संरचनाहरु उठाउने काम एमालेले गरेको उनको दाबी छ । झापाको भ्यूव टावरलाई उनले ‘ट्रेड टावर’ को संज्ञा दिए । झापाको भ्यूव टावरले भोलिका दिनमा राम्रो सन्देश दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस्