Logo

आफुले विष खाएर छोरीहरुलाई खुवाइन्, नाबालक छोरीहरु मरे आमा भने बाँचिन्

मोरङ– मोरङको सुन्दरहरैँचा–७ मा श्रीमान अर्जुन कार्कीसँग नयाँ बन्दै गरेको घरमा पानी नहालेको निहुँमा झगडा गरेर दुई छोरी लिएर हिँडेकी अस्मिता न्यौपानेले पहिले आफूले विष खाएको खुलेको छ ।

त्यसपछि उनले तीन वर्षीया छोरी अर्पणा र एक वर्षीया छोरी आइकालाई विष खुवाएको खुलेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताएका छन् । उनका अनुसार कम विष खाएकाले अस्मिता बाँचिन् भने नाबालिका दुई छोरीको भने मृत्यु भएको हो ।

बुधबार पक्राउ परेकी उनलाई प्रहरीले सोधपुछ गर्ने क्रममा पहिले अलिकति आफूले विष खाएको र त्यसपछि दुई छोरीलाई खुवाएको बताएकी छिन् । उनले भनिन्, ‘मैले सुरुमा विष पिएँ । मलाई छाती पोल्न थाल्यो । म मरे भने छोरीहरू जङ्गलमै हुने भए बरु मसँगै लैजान्छु भनेर उनीहरूलाई पनि विष खुवाएँ ।’ विष खुवाएको केहीबेरमै छोरीहरूको मृत्यु भएपछि अस्मिता मोबाइल त्यहीँ छाडेर हिँडेको पाइएको एसपी कार्कीले बताए ।

धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरेका अर्जुन कार्की ट्याक्सी चलाउँछन् । उनी इजहरी– भोजपुर जाने ट्याक्सी चलाउँछन् भने परिवारसहित मोरङको सुन्दरहरैंचामा बस्दै आएका छन् । सुन्दरहरैंचामा नै उनले नयाँ घर समेत बनाइरहेका छन् ।

उनी ट्याक्सी चलाएर शुक्रबार भोजपुरबाट घर फर्किएका थिए । तर घर पुग्ने बित्तिकै उनलाई नयाँ बनेको घरमा पानी नहालेको देखे । र सोहि विषयमा उनको श्रीमती अस्मितासँग विवाद सुरु भयो । विवादपछि श्रीमतीले छोरीहरु अर्पणा र आइकालाई लिएर त्यही दिन राति करिब ८ बजेतिर डेराबाट निस्किएकी थिइन् ।

अस्मिताले घर छाडेपछि सोहि राती ‘तेरो छोरी मारेर म पनि मर्छु’ भन्दै श्रीमानलाई म्यासेज गरेकी थिइन् । श्रीमती र छोरीहरुको सोही राति खोजी गरेर नभेटेपछि अर्जुनले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा भोलिपल्ट दिउँसो केराघारीमा अंगालो मारेको अवस्थामा दुई छोरीहरुको शव भेटिएको थियो । नजिकै विषादीको बट्टा र अस्मिताको मोबाइल फोन पनि भेटिएको थियो ।

दुई बालिकाको शव भेटिएपछि प्रहरीले महिलाले महिलाले पनि आत्महत्या गरेको आशंकामा खोजी गर्न थाल्यो । खोजी कार्यको चार दिनपछि उनी बुधबार झापाको बिर्तामोडमा फेला परिन् ।

अस्मिता बिर्तामोडमा हिँडिरहेको र मानसिक रुपमा विछिप्त रहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । उनको विराटनगरस्थित कोशी अस्पतालमा राखेर उपचार गरेको थियो । प्रहरीले बुधबार नै उनलाई सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्