Logo

बञ्चरेडाडाँको निगरानी काठमाडौं महानगरपालिकाको कार्यालयबाट

काठमाडौं– काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट नुवाकोट र धादिङ जिल्लाको सीमाना बञ्चरेडाँडामा छ ।

संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो ।

क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट निगरानी हुनेछ । यससँगै वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

‘स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामरा जडान गरिएको हो’, प्रमुख प्रशासकीय अधिकृत परियारले भने ।

साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् । वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राई भन्छिन्, ‘९ वटा क्यामराका दृश्यबाट साइटको निगरानी हुन्छ ।’

पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन ९एएनपीआर० क्यामरा हुन् । सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल भन्छन्, ‘यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न सक्छ । नेपाली अक्षरबाट लेखिएको नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।’

 

प्रतिक्रिया दिनुहोस्