Logo

एकैदिन २३ वटा दाँत निकाले १२ वटा प्रत्यारोपण, १३ दिनपछि बिरामीको मृत्यु

काठमाडौं– चिनमा एक वृद्ध व्यक्तिको दाँत प्रत्यारोपण गरेको केहि दिनमा नै मृत्यु भएपछि चिनियाँ अधिकारीहरुले मृत्युको घटनाबारे अनुसन्धान गरिरहेका छन् । ती व्यक्तिले केही दिनअघि आफ्ना २३ वटा दाँत निकालेका थिए । उनले एकै दिनमा १२ वटा दाँत प्रत्यारोपण गरेका थिए । दाँत प्रत्यारोपण गरेको केहि दिनमा नै उनको मृत्यु भएको हो ।

चिनको झेजियाङ प्रान्तको योंगकाङ सहरकी सु नाम गरेकी महिलाले आफ्ना बुबाको मृत्युपछि एक स्थानीय डेन्टलविरुद्ध उजुरी दर्ता गराएकी छिन् । उनले नगर स्वास्थ्य व्युरोमा उजुरी दर्ता गरेकी हुन् ।

उनले उजुरीसँगै बुबाले एकै दिनमा २३ वटा दाँत निकालेको र १२ वटा नयाँ दाँतको इम्प्लान्ट गराएको प्रमाण पेश गरेकी छिन् । दाँत प्रत्यारोपणको १३ दिनपछि उनको असामयिक मृत्यु भयो ।

दाँत प्रत्यारोपणदेखि मृत्यु हुनुअघिसम्म आफ्ना बुबाले असहनीय पीडामा रहेर बिताएको उनले बताएकी छिन् । तर अन्त्यमा गत २८ अगस्टमा हृदयाघातका कारण बुबाको मृत्यु भएको सुले बताएकी छिन्।

बिरामीले डेन्टलमा उपचारका क्रममा गरेको सहमतिपत्र अनुसार सुका पिताले एकैदिनमा आफ्ना २३ वटा प्राकृतिक दाँत निकालेका थिए । नयाँ दाँत इम्प्लान्ट गर्न १२ वटा प्वालहरू उनको गिजामा ड्रिल गरिएका थिए । एकैदिन त्यति धेरै सङ्ख्यामा दाँत निकाल्ने र हाल्ने काम भएकाले एनेस्थेसियाको प्रभाव समाप्त भएपछि उनले असहनीय पीडा सहनु परेको थियो ।

एकै पटकमा कतिवटा दाँतहरू निकाल्ने भन्ने त्यस्तो कुनै विशिष्ट नियम छैन। क्लिनिक र चिकित्सकले रोगीको पीडा सहने क्षमता र संक्रमणको जोखिमलाई हेरेर एक पटकमा कतिवटा दाँत निकाल्ने भन्ने निर्णय गर्र्दछन् । यद्यपी जति धेरै दाँतहरू निकालिन्छ, रोगीको पीडा सहन क्षमता कम हुनुका साथै सर्जरीपछि संक्रमणको सम्भावना त्यति नै बढी हुने बताउँछन् ।

यो घटनाको बारेमा अनुसन्धान जारी रहेको बताइएको छ । उपचारको १३ दिनपछि मात्रै बिरामीको मृत्यु भएको हुँनाले दाँतको उपचारका कारण उनको मृत्यु भएको साबित गर्न कठिन हुने नगर स्वास्थ्य व्युरोका अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्