पोखराका दुई इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर, १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद


पोखरा– पोखराका दुई जना इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । इन्जिनियर शिव बराल र सब–इन्जिनियर उषा किरण रोकाया भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका हुन् । उनीहरूलाई १ लाख ७५ हजार जरिवाना र ८ महिना कैद सजाय सुनाइएको छ ।

विशेष अदालतका खुसीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले उनीहरूलाई भ्रष्टाचारी ठहर गरेको हो । उनीहरूको सेटिङ मिलाइदिने गोदार इन्जिनियरिङ कन्सल्टेन्सीका सुरज कुँवरलाई आधा सजाय तोकिएको छ । उनलाई ४ महिना कैद र ८७ हजार ५ सय जरिवाना तोकिएको हो ।

घर सम्पन्नको प्रमाणपत्र लिने क्रममा घरधनीसँग घुस मागेपछि कुँवर र रोकायालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले रंगेहात पक्राउ गरेको थियो । घरधनीले सुरुमा २ लाख बुझाएर पछि डेढ लाख बुझाउने क्रममा अख्तियारलाई खबर गरेका थिए ।

कुँवर र रोकायालाई पक्राउ गरेर बयान लिँदा बराल पनि तानिएका हुन् । उनले सुरुमा पाएको २ लाख बैंकमा जम्मा गरेका थिए । अनुसन्धानका क्रममा २ लाख घुस बरालले लिएको पुष्टि भएपछि बैंकबाट उक्त रकम जफत गरिएको थियो । लिइसकेको घुस भने उजुरी कर्तालाई भराइदिने आदेश अदालतबाट भएको छ ।