Logo

प्रेमीका अन्य पुरुषसँग रहेको आशंकामा सुन्दरीजलमा धकेलेर हत्या

काठमाडौं– गत बिहीबार बिहान ९ बजे गोकर्णेश्वर नगरपालिका–१ को सुन्दरीजलको बोक्सेदहमा ढुंगामा च्यापिएको अवस्थामा शव भेटिएकी महिलाको हत्या भएको खुलेको प्रहरीले जनाएको छ । मृत भेटिएकी महिलाको महिलाको पहिचार खुलेसँगै उनको हत्या भएको खुलेको हो । उनको हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउसमेत गरेको छ ।

मृत्यु हुने महिला सिराहा घर भई काठमाडौं महानगरपालिका–३ बसुन्धारा बस्दै आएकी राम दुलारी हुन् । उनको हत्या आरोपमा प्रहरीले सर्लाही चक्रघट्टा गाउँपालिका–३ बस्ने ४० वर्षीय रामविनय महरा र बसगरिया गाउँपालिका–५ घर भई बसुन्धारा बस्ने २४ वर्षीय सन्तोष राम महरालाई पक्राउ गरेको हो।
मृतक महिलाको परिवार तथा आफन्त प्रहरीको सम्पर्कमा आइसकेका छैनन्।

मृतक महिलाको शव फेला परेपछि प्रहरी परिसर र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले अनुसन्धान अघि बढाएको थियो। घटनास्थलमा अनुसन्धान गर्दा शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरी दुई जनालाई पक्राउ गरेको हो।

मृतक राम दुलारी र रामविनय महराबीच दुई वर्षदेखि चिनजान थियो। उनीहरू प्रेम सम्बन्धमा थिए। रामविनय पुलमुनि बसेर जुत्ता सिलाउँथे भने रामदुलारी मजदुरको काम गर्थिन्।

मृतक राम दुलारीले दिनहुँ मापसे गर्ने गरेको र अन्य पुरूषसँग पनि सम्बन्ध रहेको आशंकामा रामविनयले भदा सन्तोषसँग मिलेर हत्या गर्ने योजना बनाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

दुबै जनाले राम दुलारीलाई घटनास्थलसम्म लगेर उचाइबाट धकेलेर घाइते बनाएका थिए । घाइते रहेकी राम दुलारीलाई दुबै जनाले पालैपालो ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेका रामविनय र सन्तोषमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।

 

प्रतिक्रिया दिनुहोस्