Logo

युट्युब हेरेर शल्यक्रिया, बिरामीको मृत्यु भएपछि डाक्टर फरार

काठमाडौं– भारतको बिहारमा पत्थरीको शल्यक्रिया गर्दा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका छन् ।

बिहारको साराण जिल्लाको मढौराका १५ वर्षीय किशोर गोलु साहलाई पेट दुख्ने र बान्ता हुने समस्या देखियो । सोपछि अभिभावकले शुक्रबार राति स्थानीय एक क्लिनिकमा स्वास्थ्य परीक्षणका लागि लगेका थिए । स्वास्थ्य परिक्षण गर्दै डाक्टरले पित्त थैलीमा पत्थरी रहेको भन्दै बालकको अप्रेसन गरिदिए । सोहि क्रममा बिरामीको मृत्यु भएपछि डाक्टर फरार भएका हुन् ।

पत्थरीको अपरेशन गर्दा डाक्टरले युट्युबमा भिडियो हेर्दै अप्रेसन गरेको मृतकका हजुरबुबाले जनाएका छन् । डाक्टरलाई यसबारे सोध्दा आफूलाई उल्टै हप्काएको उनले बताएका हुन् ।

अपरेशनपछि किशोरको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि डाक्टरले नै एम्बुलेन्स बोलाएर बिरामीलाई पटनातर्फ लगेका थिए । बिरामीका साथ उनकी हजुरआमा पनि गएकी थिइन् । तर बाटोमै किशोरको मृत्यु भएपछि डाक्टर फरार भएका हुन् । हाल फरार रहेका डाक्टरको खोजी भइरहेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्