Logo

चोरी कसुरमा कैद सजाय भोगिरहेका कैदीको मृत्यु

मोरङ– चोरी कसुरमा कैद सजाय भोगिरहेका एक कैदीको जिल्ला कारागार मोरङमा मृत्यु भएको छ।
बेलबारी नगरपालिका–४ घर भएका ३४ वर्षीय मनीकुमार तामाङको आइतबार विराटनगरस्थित कोशी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

मोरङ कारागार प्रशासनका अनुसार बिरामी परेका तामाङलाई भदौ २० गते साँझ उपचारका लागि अस्पताल भर्ना गरिएको थियो। उपचाररत अवस्थामै उनको मृत्यु भएको हो।

खुट्टा सुन्निने र मुटु सम्बन्धी पुरानै समस्या रहेका तामाङको उपचारका क्रममा आइतबर पौन १२ बजेतिर मृत्यु भएको जनाइएको छ । विराटनगरमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं लैजाने तयारी हुँदै गर्दा उनको ज्यान गएको हो ।

मोटरसाइकल चोरीमा संलग्न तामाङविरुद्ध विभिन्न पाँच अदालतमा चोरी मुद्दा दर्ता छन्। सबैजसो मुद्दा विचाराधीन रहेका थिए। मोरङ, झापा, सुनसरी, इलाम र धनकुटामा उनीविरुद्ध मुद्दा छन् ।

मोरङमा तामाङविरुद्ध चोरी कसुरमा दुई वटा मुद्दा चलेका छन्। एउटा मुद्दामा मोरङ अदालतले ४ महिना कैद र १५ हजार रूपैयाँ जरिवाना फैसला गरेको थियो। अर्को मुद्दामा १ लाख रूपैयाँ धरौटी माग गरेको थियो।

धरौटीबापतको रकम बुझाउन नसकेपछि अदालतको आदेशबाट २०८० माघ २१ गते पुर्पक्षका लागि कारागार चलान गरिएको थियो। चोरी मुद्दामै उनीसँग धनकुटा अदालतबाट धरौटीबापत ३ लाख ५० हजार र सुनसरी अदालतबाट २ लाख रूपैयाँ माग भएको थियो।

दुवै अदालतले मागेको धरौटी उनले तिर्न सकेनन्। धरौटी रकम जम्मा गर्न नसकेपछि पुर्पक्षका लागि थुनामा राख्न अदालतले आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्