काठमाडौं– रुकुम पश्चिमको रम्मा खोलाको बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ६ र ७ को सिमानामा पर्ने उक्त खोलाले बगाउँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मुसिकोट नगरपालिका वडा नम्वर ६ की अन्दाजी ३० वर्षीया निर्मला केसी थापा र वडा नम्बर ४ का अन्दाजी ५० वर्षीय सर्जन पुन रहेका छन् ।
रा ६ प २९६१ नम्बरको मोटरसाइकल चढेर आइतबार बेलुकी साँखबाट कानेबाङतर्फ जाँदै गर्दा उनीहरुलाई खोलाले बगाएको थियो । मोटरसाइकल निर्मलाले चलाएको प्रहरीले जनाएको छ ।
उनीहरुको शव सोमबार बिहान प्रहरीले फेला पारेको थियो । सर्जनको शव खोला तर्ने स्थानबाट करिब २० मिटर तल मोटरसाइकलले च्यापेको अवस्थामा भेटिएको थियो । निर्मलाको शव करिब तीन सय मिटर तल शरीरको आधा भाग माटोले पुरिएको अवस्थामा फेला परेको थियो ।
प्रतिक्रिया