काठमाडौं– साढे चार वर्षपछि नेपाली फर्कन मलेसियाको राजधानी क्वालालाम्पुरको एयरपोर्टमा पुगे रुपलाल चौधरी । दाङ तुल्सीपुर उपमहानगरपालिका–११ का ४३ वर्षका रुपलाल चौधरी लामो समयपछि घर फर्कन निकै उत्साहित थिए । लामो समयसम्म वैदेशिक रोजगारीका कारण परिवारबाट टाढा रहेका उनी फेरी मलेसिया नफर्कने गरि फर्कने तयारीमा थिए ।
उनी आउने खबरले उनको परिवार पनि निकै उत्साहित भएको थियो । उनकी श्रीमती, दुई छोरा, वृद्ध आमा सबैजना रुपलाल कहिले आइपुग्लान् भनेर प्रतिक्षा गरिरहेका थिए । यसैक्रममा क्वालाालाम्पुरको एयरपोर्टमा पुगेर श्रीमतीलाई केहि बेरमा नै उड्न लागेको बताएका थिए । उनले भिडियोकलमा श्रीमतीलाई एयरपोर्ट वरपरका दृश्यहरुसमेत देखाएका थिए । त्यसपछि उनले अन्य आफन्तलाई समेत सम्पर्क गर्दै नेपाल फर्कन लागेको जानकारी दिए । उनको नेपाली समय अनुसार दिउँसो तीन बजेको फ्लाइट थियो । कुराकानीको क्रममा उनको म्यासेज आउन छाडेपछि परिवारका सदस्यले रुपलाल आउने जहाज उडेको र उनले मोबाइल चलाउन नपाएको सोचे । र बिना टेलिफोन सम्पर्क परिपारले रुपलालको प्रतिक्षा गरिरहे ।
उनी नेपाल आइपुग्ने समयसम्म सम्पर्कमा नआएपछि परिवारका सदस्यहरु आत्तिन थाले । पाँच छ घण्टामा नेपाल आइपुग्नुपर्ने रुपलालको खबर नआएपछि उनको मोबाइलमा लगातार फोन गर्न थाले । टेलिफोन सम्पर्कको लामो प्रयासपछि एक मलेसियन नागरिकले उनको फोन उठाए तर नेपालमा रहेका परिवारले उनको कुरा बुझेनन् । रुपलालका छोरा विपिनले मलेसियामा नै रहेका काका लोकमणिलाई बुझ्न लगाए। लोकमणिले बुझ्दा रुपलालको एयरपोर्टमै मृत्यु भएको खबर उनीहरुले पाए ।
उनको अनुसार जहाज पर्खिरहेका बेला रुपलाल हृदयघातका कारण अचानक ढलेका थिए । उनको एयरपोर्टमै मृत्यु भइसकेको थियो । उनको पोर्टमार्टम हुन भने बाँकी छ ।
दशैँ तिहार मनाउने गरि चाडबाड सुरु हुनुभन्दा अघि आउन लागेका रुपलाल विमानस्थलमा नै अस्ताएपछि उनको मृत्युको खबरले परिवार शोकमा छ । आइतबारमात्र मृत्युको खबर पाएकी उनकी पत्नी मनबुझौनी चौधरी विक्षिप्त छिन् । रुपलाल आउने प्रतिक्षामा रहेका १३ र १६ वर्षीय छोराहरू विपिन र विवेक तथा ८० वर्षीय आमा उनकाे लाश कुरिरहेका छन् ।
प्रतिक्रिया