काठमाडौं– चलचित्र जगतमा नाम कमाउन र सफलता पाउनका निकै मेहेनत गर्नुपर्छ । तर स्टारकिड्सको हकमा भने उनीहरुको आमाबुबाको कामका कारण नाम दर्शकले चिनिसकेका हुन्छन् । उनीहरुलाई सफल हुन भने आफ्नै आमाबुबासँग तुलना गरिएको हुन्छ र उनीहरुप्रति थप अपेक्षा दर्शकले राखेका हुन्छन् ।
त्यस्तै यसपालिको दशैँमा एक स्टारकिड्स ठूलो पर्दामा देखिँदैछन् । फुलपातीका दिन अभिनेता विराज भट्टले आफ्नो छोराको डेब्यु चलचित्र ‘१२ गाउँ’ रिलिज गर्दैछन् ।
विराज भट्ट नेपाली सिनेमा क्षेत्रमा चर्चित एक्सन अभिनेता हुन् । उनी नेपाली सिनेमा क्षेत्रका साथै भोजपुरी फिल्ममा समेत सक्रिय छन् । भोजपुरी फिल्ममा सक्रियता जनाएपछि उनी नेपाली चलचित्रमा कम सक्रिय देखिए । पछिल्लो समयमा उनले आफ्नै प्रोडक्सन हाउस विराज भट्ट प्रोडक्सनबाट पूर्व मिस नेपाल निकिता चाण्डकसँग सहित साङ्लो फिल्म ल्याएका थिए ।
त्यसपछि हाल विराज आफ्नो छोरा समिर भट्टलाई नेपाली सिनेमा क्षेत्रमा डेब्यु गराउँदैछन् । आफ्नै प्रोडक्सन हाउसबाट विराज भट्टले तयार गरेको फिल्ममा समिर भट्टका साथै विराज भट्टपनि छन् । फिल्ममा सोनु चन्द्रपाल, दिया मास्के, मुरलिधर, सनिशा भट्टराई लगायतका कलाकारको अभिनय रहेका छन् ।
तीन हप्ता अघि सार्वजनिक भएको फिल्मको टिजरमा अत्याचार र त्यसको परिवर्तनका लागि जन्मिएको योद्धाको कथा देखाइएको छ । टिजरअनुसार फिल्म एक्सन प्रदान छ । जहाँ समिरको आर्कषक एक्सन र शारीरिक सुगठन देख्न सकिन्छ ।
१२ गाउँको शनिबार पहिलो गित ‘सिनेमा हेर्न जाऔँ’ सार्वजनिक भएको छ । गीतमा समिर र सोनु चन्द्रपल फिचर्ड रहेका छन् । गीतमा अर्जुन पोखरेल र विराज भट्टको शब्द र नकाश अजीजको स्वर रहेको छ । सुनिल क्षेत्रीले गीतको कोरियोग्राफी गरेका छन् । गित सार्वजनिक भएको केहि घण्टामा नै ट्रेन्डिङमा गएको थियो । सोमबारसम्म गीत ट्रेन्डिङ नम्बर २ मा रहेको छ । सो समयसम्म ६ लाख ६० हजारभन्दा धेरैपटक हेरिएको छ । ट्रेन्डिङ नं १ मा असार ३ मा प्रदर्शनमा आउन लागेको चलचित्र ‘खुस्मा’ को दुई हप्ताअघि सार्वजनिक रुकुम माइकोट बोलको गीत रहेको छ । गीतमा धिरज मगर र उपासना सिंह ठकुरी फिचर्ड छन् ।
यद्यपी उनको डेब्यु फिल्मको सफलता भने त्यति सहज छैन । किनभने ‘१२ गाउँ’ को रिलिजका लागि तोकिएको मितिमा अन्य दुई फिल्म आउँदैछन् । असोज २४ अर्थात् फुलपातीका दिन सिनेमा हलमा ‘१२ गाउँ’, ‘छक्कापञ्जा ५’ र ‘ज्वाई साब’ प्रर्दशनमा आउँदैछन् । दिपा श्री निरौला र दिपकराज गिरीको फिल्म सिरिज ‘छक्का पञ्जा’ले सँधैझै यो पटकपनि राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ । यस्तै सोहि दिन चर्चित हास्यकलाकार जितु नेपाल र मिस इन्टरनेशन नेपाल २०१७ को विजेता निती शाहको चलचित्र ‘ज्वाईसाब’ पनि प्रदर्शन हुँदैछ । फिल्ममा बुद्धी तामाङ र हिमेश पन्त लगायतका कलाकारको समेत अभिनय रहेको छ । यस फिल्मको टिजरले समेत राम्रो प्रतिक्रिया पाएको छ ।
‘छक्कापञ्जा ५’ र ‘ज्वाईसाब’सँग प्रतिस्पर्धा गर्दै डेब्यु फिल्मबाट नेपाली फिल्मी क्षेत्रमा स्थापित हुन समिरले निकै संघर्ष गनुपर्ने देखिएको छ । विराज आफैले निर्माण गरेको फिल्ममा आफै अभिनय गरेर छोरालाई दर्शकमाझ चिनाउने प्रयास गरिरहेका छन् ।
विराजले सन्तोष सेनको फिल्म ‘बलिदान’ बाट डेब्यु गर्न लागेका समिरलाई बाहिरी ब्यानरको विश्वास नगर्दै आफ्नै होम प्रोडक्सनबाठ डेब्यु गराउने हतारो गरेका हुन् । गत वैशाखमा बलिदान फिल्मको पोस्टरमा समिरलाई सार्वजनिक गर्दै उक्त फिल्मबाट उनको डेब्यु गराउने घोषणा गरिएको थियो । उता विराज पनि आफ्नो फिल्म १२ गाउँबाट नै समिरलाई डेब्यु गराउने हतारो गरेका हुन् ।
ठूलो बजेटमा निर्माण हुन लागेको बलिदान प्रि प्रोडक्सनको कामले छायाङ्कन ढिलो सुरु भयो । यस समयको बिचमा विराजले आफ्नो फिल्मको छायाङ्कन सिध्याए । ‘१२ गाउँ’मा दर्शकले फिल्म हेर्दा समिरलाई नयाँ कलाकारको रुपभन्दा पनि विराज भट्टको छोरालाई हेर्नेछन् । यसले समिरलाई आफ्नो क्षमताले भन्दा दर्शकमाझ जम्न बुबाको नामको आड चाहिने भाष्य सिर्जना गरेको छ ।
हुन त समिरले बुबा विराज भट्टको आफु ठूलो फ्यान भएको र बुबाको फ्यान फलोइङ देख्दा फिल्म खेल्ने प्रेरणा मिलेको बताउँदै आएका छन् । उनले पहिलो अन्तर्वार्ता भिएफवाई टक्सलाई दिँदै बुबा आफ्नो लागि लगानी गरेको र त्यसको बदलामा आफूले नेपाली फिल्मका लागि केहि गर्न चाहेको बताएका छन् । १० वर्षअघि देखिनै बुबासँग फिल्म, अभिनय र एक्सनको बारेमा चर्चा गर्दै अभिनयको तयारी गरेको र बुबालाई नै गुरु बनाएको बताएका छन् ।
समिर एक्सन, अभिनय र नृत्यमा नै पर्फेक्ट देखिन्छन् । नेपाली फिल्ममा आउनुअघि समिरले पनि निकै मेहेनत गरेका छन् । व्यवस्थापन विषयमा स्नातक गरेका उनले लामो समयदेखि अभिनय सिकेका छन् । उनले विगत १० वर्षदेखि भारतको मुम्बईमा अभिनय, मार्सल आर्ट, जिम तथा जिम्न्यास्टिकको प्रशिक्षण लिइरहेका छन्। जसबाट उनी एक्सनका साथै अन्य जनराका फिल्ममा पनि योग्य बन्न चाहन्छन् ।
उनको लागि आफूलाई प्रमाणित गर्न ‘बलिदान’ फिल्मबाट डेब्यु गरेको भए उनी आफ्नै नामका कारण दर्शकमाझ चिनिन्थे । किनभने निर्माता सन्तोष सेन आफैमा एउटा ब्राण्ड हुन् । उनले चंखे शंखे पंखे प्रेमगित, प्रेमगीत २, प्रेम गीत ३, मेरी मामु जस्ता फिल्म निर्माण गरेका छन् । पछिल्लो समयकी चर्चित नायिक पूजा शर्मा सेनले सुर्दशन थापासँग मिलेर निर्माण गरेको चंखे शंखे पंखे र प्रेमगितको सफलताबाट उदाएकी हुन् । नायक प्रदीप खड्का पनि प्रेमगीत फिल्मबाट नै चर्चित भएका हुन् । प्रेमगीतका ३ वटा सिक्वेलमा नै निभाएको ‘प्रेम’ पात्रको भुमिकाले नै प्रदीप खड्कालाई ब्राण्ड बनाएको छ ।
सन्तोष सेन आफै चलचित्र क्षेत्रमा नयाँ प्रयोग गर्ने र ब्राण्ड बनाउने निर्माता हुन् । उनले आफ्नो ठूलो लगानीबाट बन्न लागेको फिल्ममा समिरलाई ब्राण्ड बनाउन चाहेको बताएका थिए । अहिले फिल्मको प्रि प्रोडक्सनको काम सकिएर छायाङकन सुरु भएको छ । हरितालिका तिजको दिन प्राविधिक पूजा गरेसँगै बलिदानको छायांकनसमेत सुरु भएको हो । फिल्ममा समिरसहित अर्पण थापा, सौगात मल्ल, ऋचा शर्मा, दिव्य देवलगायतका कलाकार छन् ।
दक्षिण भारतिय फिल्म क्षेत्रका प्राविधिक टोलीहरुले छायांकन गर्ने यस फिल्ममा नेपालको माटोमाथि भइरहेको शोषण, निरङ्कुशता, र समाजका तथा कथित नाइकेहरूको अत्याचारमा आधारित कथा देखाइने छ । बलिदान फिल्मको नौ महिना पहिले प्रि टिजर सार्वजनिक भएको थियो । जहाँ अधिकांश दर्शकले फिल्मको नायकको रुपमा विराज भट्टलाई हेर्न चाहेको प्रतिक्रिया दिएका थिए ।
दर्शकको चाहना बिराज भएको र सोही समयमा बिराजका छोरा अभिनयमा आउन खोजिरहेको भएपछि समिरलाई सन्तोषले ‘बलिदान’को लागि अफर गरेका थिए । बलिदानको लागि हिरोको खोजी गरिरहेको बेला समिरमा कथाले मागेको पात्रको भूमिका निभाउन सक्ने क्षमता देखेर उनलाई हिरोको रुपमा छानेको सन्तोषले बताउँदै आएका छन् ।
उता समिर सिनेमा क्षेत्रमा कसैसँग प्रतिस्पर्धा गर्न नआएको बताएका छन् । अभिनय गरेर आफैलाई प्रमाणित गर्न चाहेको उनले बताएका छन् । उनले बलिदान फिल्मपछि राम्रो ब्यानरले अफर गरेमा नेपाली फिल्ममा नै काम गर्ने योजना रहेको बताएका छन् । बलिदानपछि राम्रो अफर आए अभिनयलाई नेपालमा नै निरन्तरता दिने र नेपाली मौलिक फिल्मलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य रहेको उनको भनाइ छ । बलिउड र साउथ फिल्ममा पनि काम गर्न संघर्ष गरिराखेको उनले बताएका छन् ।
प्रतिक्रिया