२३ महिनाको छोरीलाई हिकाउँदा बेहोस् भएपछि खोलामा फाल्ने आमा पक्राउ
काठमाडौं– छोरीको हत्या गरी शव खोलामा फालेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुरको कोन्जोसोम गाउँपालिका–३ दलचोकी बस्दै आएकी २१ वर्षीया प्रमिला भन्डारीलाई छोरीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
काभ्रेको पनौती घर रहेकी उनलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले सोमबार पक्राउ गरेको हो । २७ साउनको दिउँसो ५ बजेतिर आफ्नै घरबाट २३ महिनाकी छोरी प्रिन्सिका भन्डारी हराएको भन्दै प्रमिलाले प्रहरी वृत्त चापागाउँमा निवेदन दिएकी थिइन् ।
खोजतलास गर्ने क्रममा २८ साउनको बिहान साढे ८ बजेतिर उनको घर नजिकै सिलिङ्गेबेसी आँपबोटमा रहेको ठोस्ने खोलामा बालिकाको शव भेटिएको थियो ।
पानीको डुबेको रुखको हाँगामा अड्किएको अवस्थामा भेटिएको बालिकाको शव शव पोष्टमार्टमका लागि पाटन अस्पतालमा पठाइएको थियो । शवको प्रकृति र पोष्टमार्टम रिपोर्टमा संकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो।
प्रहरी अनुसन्धानका क्रममा प्रमिलाले छोरीको हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । हिर्काउँदा बेहोस भएपछि खोलामा फालेको आमाले स्वीकार समेत गरेकी छिन् । उनलाई पक्राउ गरेर प्रमिलाविरुद्ध ललितपुर जिल्ला अदालतबाट कर्तव्य ज्यानको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।