Logo

आफ्नै श्रीमानले गराए ९२ पटक बलात्कार, बलात्कृत हुँदै आएको दश वर्षसम्म घटनाबारे श्रीमती अनविज्ञ

एजेन्सी- फ्रान्समा एक महिलाले आफ्नै श्रीमानबाट दर्दनाक पीडा भोगेकी छिन् । जहाँ उनलाई आफ्नै श्रीमानले परपुरुष भाडामा लगाएर १० वर्षदेखि बलात्कार गराउँदै आएका थिए। फ्रान्सका ७१ वर्षका डोमिनिक पेलिकोट नामका व्यक्तिले आफ्नै श्रीमती गिजेललाई १० वर्षसम्म पटक पटक बलात्कार गराएका हुन् । गिजेलमाथि सन् २०११ बाट यौनहिंसा सुरु भएको थियो र त्यो १० वर्षसम्म चल्यो । तर उनले आफुमाथि बलात्कार भएको विषयमा थाहा पाउन सकेकी थिइनन् ।

सन् २०२० मा एक महिलाको स्कर्टमुनिबाट भिडियो खिचेको आरोपमा प्रहरीले डोमिनिकलाई पक्राउ गर्यो । त्यसपछि प्रहरीले उनको घरमा अनुसन्धान गर्दा उनले आफ्नी पत्नीमाथि त्यस्तो अत्याचार गरिरहेको खुलासा भएको हो । त्यस क्रममा प्रहरीले घरबाट कल्पनै गर्न नसकिने प्रमाणहरू फेला पारेको थियो । ती फोटो तथा भिडियोहरू हेरेपछि मात्रै गिजेललाई आफूमाथि वर्षौंदेखि बलात्कार भइरहेको थाहा भयो ।

डोमिनिकले पत्नीलाई लगातार लागुऔषध सेवन गराएर अचेत बनाउने गर्दथे, जसका कारण गिजेलले आफुमाथी बलात्कार भएको थाहा नै पाउँदिनथिन् । डोमिनिकले १० वर्षको अवधिमा विभिन्न ७२ जना अपरिचित पुरुषलाई आफ्नो घरमा बोलाएर पत्नीलाई बलात्कार गर्न लगाएको खुलेको छ । ती व्यक्तिहरुबाट उनी एक दशकमा ९२ पटक बलात्कृत भइन् ।

उनको पति डोमिनिकले विथवाउट हर नोइङ नाम गरेको एक अनलाइन फोरमको माध्यमबाट अपरिचित पुरुषहरुलाई बलात्कार गर्नका लागि भाडामा लिने गर्थे । अनि घरमै बोलाएर ती पुरुषबाट पत्नीलाई बलात्कार गराउँदै त्यसको भिडियो खिच्थे ।

कहिलेकाहीँ परपुरुषसँगै आफू पनि पत्नीमाथिको बलात्कारमा सहभागी हुन्थे । गिजेलमाथि ९२ पटक बलात्कार भएको र त्यसका २० हजार तस्बीर तथा भिडियोहरु फेला परेको प्रहरीले जनाएको छ । ती फोटो तथा भिडियोलाई डोमिनिकले कम्प्युटरमा अव्युज नामको फोल्डर बनाएर राखेका थिए ।

यो कुरा खुलासा भएपछि गिजेलले आफ्नो गोपनियताको वास्ता नगरी कानुनी लडाई लडिरहेकी छिन् । नशालु पदार्थको सेवन गराएर यौन हिंसा गरिएका सबै महिलाको तर्फबाट कानुनी लडाइँ लडेको उनले बताएकी छिन् ।

यहि मुद्दामा बहस गर्न उनी गत सोमबार फ्रान्सको दक्षिणी सहर एविग्ननस्थित अदालतको इजलास कक्षमा प्रवेश गरिन् । उनलाई साथ दिन उनका तीन जना सन्तान पनि इजलास कक्षमा पुगेका थिए । उनले आफ्नो पतिले गरेको अत्याचारको स्मरण गर्र्दै भनिन्, ‘वास्तवमा भन्ने हो भने त्यो मेरोलागि कहालीलाग्दो छ । म ओछ्यानमा अचेत भई लडिरहेकी छु र ममाथि बलात्कार भइरहेको छ । बलात्कारीहरुले मलाई कुनै थोत्रो कपडाको गुडिया ठानिरहेका छन् ।’

इजलास कक्षमा प्रतिवादी वकिलहरुले उनीमाथि भद्दा प्रश्नहरु समेत गरे । एक दशकसम्म आफूमाथि बलात्कार भएको कुरा पनि थाहा नहुने कुरा कसरी सम्भव हुन्छ ? भन्दै उनीहरुमाथी भद्दा प्रश्न गरिएको थियो । उनको विवाहेत्तर सम्बन्ध रहे नरहेको? खुल्ला यौन सम्बन्धमा रहे नरहेको? जस्ता प्रश्नहरू वर्षाइएको थियो । आफ्नो आमामाथीका त्यस्ता प्रश्नहरु सुन्न नसकेर उनका सन्तानहरु इजलास कक्षबाट बाहिरिएका थिए ।

गिजेलभने आफूमाथीको अपमानजनक प्रश्नहरुको सामना गर्दै त्यही बसिरहिन् । हालसम्म उनीमाथि बलात्कार गर्ने ७२ मध्ये ५१ जना पुरुषको पहिचान भएको छ ।

प्रतिक्रिया दिनुहोस्