मोरङमा टोले गुण्डाको ज्यादती, एउटै किसानबाट नौ कठ्ठा जग्गा र ३२ लाखको चेक लुटपाट


मोरङ – मोरङका एक जना पुरुष टोले गुण्डाका कारण पटकपटक पिडीत बनेका छन् । मोरङको बेलबारी नगरपालिका ९ धिमाल गाउँमाझिगाउँका ५३ वर्षीय महेन्द्र बोगटीले टोले गुण्डाबाट पीडित भएको बताएका हुन् ।

बोगडीले टोले गुणडाहरुले बिना कारण आफ्नो जग्गा हडपेको र पैसा माग गरेको समेत आरोप लगाएका छन् । टोेले गुण्डाले आफुलाई बन्धन बनाएर लाखौँको चेक लिएको समेत उनले बताएका छन् ।

बोगटीका अनुसार भदौ १६ गते उनलाई टोले गुण्डाले होटलमा बन्धक बनाएर तीन वटा चेकमार्फत ३२ लाख रुपैयाँको चेक लगेका हुन् । उनले भने, ‘होटलमा बन्धक बनाउनु अघि घरमा नै आएर धम्की दिएका थिए । घरमा म र बुहारी मात्र थियौँ । ६÷७ जना हातभरि ठूलाठूला ट्याटु बनाएका गुण्डाहरु आएर मलाई सिधै पिट्न थाले । मलाई पिट्दै १६ गते होटलमा नआए कालोमोसो दल्दै लैजाने धम्की दिए ।’

उक्त धम्कीपछि छोरासहित होटलमा पुगेको उनले बताएका छन् । होटलमा पुगेपछि छोरा र आफुलाई सुरुमा सँगै राखेको र पछि छुट्टाछुट्टै बन्धक बनाएको बताएका छन् । ‘होटलमा बन्धक बनाएपछि ३२ लाखको चेक माग्दै बोटलले हिर्काउन थाले । मसँग चेक छैन घरमा छ भनेँ ।’ घरमा चेक लिन उनीहरुले नै छोरालाई साथमा लगेर होटलमा चेक लगेको उनले बताए । उनका अनुसार असोज ८, कत्तिक २८ गतेको चेक काटिएको छ । सो दिन दुई बजेतिर होटल पुगेका उनीहरुलाई साँझमा मात्र छाडिएको उनले बताए ।

उक्त गुण्डाको समुहले महेन्द्रको नौ कठ्ठा जग्गा समेत हडपेका छन् । केहिवर्ष अघि नै ५ कठ्ठा हडपेको र ४ महिना पहिले थप चार कठ्ठा जग्गा हडपेको उनको आरोप छ । उनले भने, ‘मेरो आमाको नामबाट दाजुहरुको नाममा गएको ५ कठ्ठा जग्गा पहिला हडपे । पछि ३३ वर्ष पहिले बुबाले मलाई दिनुभएको जग्गा हडपे ।’

पछिल्लो समयमा हडपेको जग्गाबाट सुपारी र कटहरको रुख काटेर लगिसकेको उनले बताएका छन् । गुण्डा समुहले खेतमा फलेको अन्नबाली खेतबाटै लैजाने, माछा पोखरीबाट मनलाग्दी रुपमा माछा मारेर लागे गरेको बताए ।

ज्यादती ज्यादा भएपछि उनले पछिल्लो समयमा सरकार र कानुनको सहारा खोजेका छन् । वडाध्यक्षलाई आफुमाथी भएको अत्याचारको विषयमा जानकारी गराएको र वडाध्यक्षले आएर जग्गाहरुको अवलोकन गरेको उनले बताए ।

यस्तै उनले नगरपालिकाका जनप्रतिनिधि र मोरङ ३ का प्रतिनिधि सभा सांसद सुनिल शर्मासँग आफूले भोगिराखेको समस्याको विषयमा जानकारी गराउन खोजेको तर सम्पर्क हुन नसकेको दुखेसो पोखे । उनी भदौ १७ गतेदेखि गुण्डाको डरले घर नफर्किएका उनी सोमबार मात्र घर फर्किएका छन् ।

यस समयमा उनले सिडिओसमक्ष आफ्ना समस्याका विषयमा जानकारी गराएका छन् । च्याउ खेती तथा अन्य कृषि उपज उत्पादन गरेर परिवार पाल्दै आएका बोगटीले गुण्डाको ज्यादतीका कारण निकै दुख पाएको र कानुनी लडाई लड्ने तयारी गरेको अनलाइन टिभि नेपालसँग बताएका छन् । उनले भने, ‘सिडिओले चेक लिएर आउन विपक्षीलाई कागज गराउनु भएको छ । अब उनीहरुमाथी मुद्दा चलाउने तयारी भएको छ । अब म ज्यान सुरक्षा गरिपाउँ भन्दै अदालती प्रकृयामा पनि जानेछु ।’

सिडिओ कार्यालयमा उजुरी गर्दा सुरुसुरुमा धम्की आउने गरेपनि दुई तीनदिनदेखि भने धम्की आउन छाडेको बोगटीले बताएका छन् । आफुसँग गुण्डाको भरणपोषण गर्न सम्पत्ती नभएको भन्दै कानुनी लडाई लड्न लागेको उनले सुनाएका छन् ।