एप्पलद्वा आइफोन १६ सार्वजनिक, कति छ मुल्य?


काठमाडौं— एप्पलले आइफोन १६ का विभिन्न मोडल सार्वजनिक गरेको छ । आफ्नो वार्षिक कार्यक्रममा एप्पलले आइफोन, एप्पल वाच, एअरपड, आइप्याड, म्याकबुकका नयाँ मोडलसहित आफ्ना पछिल्ला उत्पादनहरू सार्वजनिक गरेको हो ।

क्यालिफोर्नियास्थित एप्पलको मुख्य कार्यालयमा एक कार्यक्रमका बिचमा आइफोन १६ सार्वजनिक गरेको छ । आइफोन १६ सिरिजअन्तर्गत आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स सार्वजनिक भएका छन् ।

आइफोन १६ मोडलहरूमा ए१८ प्रो चिप समावेश गरिएको छ । एप्पल इन्टेलिजेन्सका लागि यसमा दोस्रो पुस्ताको ३–नानोमिटर ट्रान्जिस्टर र नयाँ १६–कोर न्युरल इन्जिन राखिएको छ । यो विशेषगरी जेनेरेटिभ एआईसम्बन्धी प्रयोजनका लागि डिजाइन गरिएको हो जसले डिभाइसको सिस्टम मेमोरी ब्यान्डविथमा १७ प्रतिशतले वृद्धि गर्ने कम्पनीले जनाएको छ ।

आइफोन १६ मा ४८–मेगापिक्सेलको ‘फ्युजन क्यामरा’ र टेलिफोटो सुविधा रहनुका साथै १२० फ्रेम पर सेकेन्डमा फोर के भिडियो खिच्न पाइने कम्पनीले जानकारी दिएको छ । रेकर्डिङ स्टुडियोकै गुणस्तरको भ्वाइस रेकर्डङ सुविधा थपिएको छ । यति मात्र नभएर ‘अडियो मिक्स’ फिचर राखिएको छ र कम्पनीले यसलाई समग्र स्मार्टफोन उद्योगमै पहिलोपटक यस्तो सुविधा ल्याइएको दाबी गरेको छ । मेसिन लर्निङ प्रविधिको सहयोगले भ्वाइस रेकर्डिङ एपमा वक्ता र पृष्ठभूमिको ध्वनि छुट्याउन सकिने कम्पनीले उल्लेख गरेको छ ।

आइफोन १६ को मूल्य ७ सय ९९ डलर, आइफोन १६ प्लसको ८ सय ९९, आइफोन १६ प्रोको ९ सय ९९ र प्रो म्याक्सको मूल्य १ हजार १ सय ९९ डलरबाट सुरु हुन्छ । शुक्रबारबाट अग्रिम अर्डर दिन सकिने कम्पनीले जनाएको छ ।

आईफोन १६, आईफोन १५ प्रो र आईफोन प्रो म्याक्समा उपलब्ध हुने भनिएको एप्पल इन्टेलिजेन्स सुविधा अहिलेलाई बेटा भर्सनमा मात्रै रहेको र यो पनि अर्को महिनादेखि मात्रै उपलब्ध हुँदै छन् । यसले आइफोनको डिजिटल भ्वाइस एसिसेन्ट सिरिको लागि नयाँ युगको प्रारम्भ गर्ने दाबी गरिएको छ ।