Logo

सुरक्षाकर्मीले नियन्त्रणमा लिएर छाडे लगत्तै पूर्व मुख्यमन्त्री कार्की पुनः अनसनमा

काठमाडौं– कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले पुनः अनसन शुरु गरेका छन्। निषेधित क्षेत्रमा अनसन बसेको भन्दै सुरक्षाकर्मीले बल प्रयोग गरी अनसन स्थलबाट हटाएर घर पुर्‍याएको केही बेरपछि निषेधित क्षेत्र बाहिर देवकोटा चोकमा उनले पुनः अनसन सुरु गरेका हुन् ।

प्रदेश सभा सचिवालय अगाडी रहेको बनसखण्डी मन्दिर सामुन्ने अनसन बसेका पूर्व मुख्यमन्त्री कार्कीलाई निषेधित क्षेत्र भन्दा करिब ५० मिटर पूर्व देवकोटा चोकमा अनसन बस्न पटक–पटक गरेको आग्रह अस्विकार गरेपछि सुरक्षाकर्मीले बल प्रयोग गरेर हटाएको थियो।

अनसन स्थलबाट पूर्व मुख्यमन्त्री कार्कीलाई हटाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीका करिब २ सय सुरक्षाकर्मी परिचालन भएका थिए । सो क्रममा पटक पटक झडप हुँदा केही नेता तथा कार्यकर्ताहरु समेत घाइते भएका छन् ।

उनलाई साथ दिन पुगेका विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, नेपाली कांग्रेस विराटनगर महानगर समितिका अध्यक्ष दीपक चापागाई लगायतलाई प्रहरीले बल प्रयोग गरी अनसन स्थलबाट हटाएको थियो ।

आफुले ल्याएका योजनाहरु वर्तमान हिक्मत कुमार कार्की नेतृत्वको कोशी सरकारले कटौती गरेको भन्दै कार्कीले प्रदेश सभा भवन अगाडी मंगलबारदेखि आमरण अनसन शुरु गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार दिउँसो ३ बजे देखि प्रदेश सभा सचिवालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, मुख्यमन्त्रीको निवास, प्रदेश प्रमुखको कार्यालय, जिल्ला प्रशासन कार्यालय क्षेत्रमा विरोध प्रदर्शन र अनसन लगायतका कार्य रोक्न निषेधित क्षेत्र तोकेको छ ।

आफ्नो माग पूरा नभएसम्म अनशनबाट पछि नहट्ने उनको भनाइ छ । उनले आफ्नो कार्यकालमा घोषणा भएका १० वर्षमुनिका बालबालिकालाई निःशुल्क उपचार घोषणा, शैलजा आचार्य हृदयरोग अस्पताल सञ्चालन, हात्तीसहित सबै जंगली जनावरको संरक्षणका लागि जनावरमैत्री जंगल अभियान, महिला स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम, विराटनगरमा केसलिया करिडोर निर्माण लगायतका कार्यक्रम वर्तमान सरकारले कटौती गरेको आरोप लगाउँदै आमरण अनसन शुरु गरेका हुन् ।

 

प्रतिक्रिया दिनुहोस्